मुस्ताङ-  फूल फुल्ने समयमा परेको पानीले स्याउ उत्पादनमा असर पर्ने भएको छ। जिल्लामा स्थानीय जातका स्याउका बोटमा निकै कम फूल फुलेका थिए।

त्यसमा पनि पानी परेर फुल्दै गरेका स्याउका बोटमा असर पर्यो। शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले फूल फुल्ने बेलामा पानी परेकाले यस वर्ष स्याउ उत्पादन कम हुने बताए।

‘गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो। यस वर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेका थिए। फुलेका फूल पनि हावा र पानीले असर गर्यो ।,’ उनले भने, ‘स्याउको बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यक पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउको बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन।’

गत वर्ष सात हजार तीन सय तीस मेट्रिक टन स्याउ उत्पादन भएको थियो। त्यसअघिको वर्षभन्दा सात सय चौंतीस मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचाका बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउका बोटमा भने खासै असर नपरेको केन्द्र प्रमुख आत्रेयले सुनाए।

‘हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाको अवलोकन गरेका थियौँ। स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको देखिएन,’ उनले भने।

जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ। स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र कुहिरोका कारण स्याउका बोटमा फल लाग्न समस्या देखिएको छ।

अगौटे जातका फलफूल यतिबेला फूल फुलेर फल लागिसकेका छन्। अगौटे जातलाई वर्षाले असर नपरे पनि ढिलो फूल फुल्ने मध्यम जातका फलफूल खेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पु¥याउने केन्द्र प्रमुख आत्रेयले बताए।

यहाँ फरक–फरक स्थानमा लगाइएको स्याउ बगैँचामा तापक्रम घटबढ हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयले बताए। (समाचार स्रोत : रासस)