विराटनगर– देशका विभिन्न स्थानमा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र पार्दै १७ जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरूबाट ट्रामाडोल, डाइजेपाम, ब्राउनसुगर, खैरो हेरोइन, गाँजा लगायतका लागूऔषध बरामद गरेको छ।
मोरङ : दुई युवासँग लागूऔषध बरामद
उर्लाबारी नगरपालिका-३ थापा चोकबाट बिहीबार बेलुकी २० वर्षीय इन्द्र मगर र ३० वर्षीय भविन्द्र दर्जीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १९४ ट्याब्लेट र स्पास्पेन १९४ ट्याब्लेटसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चितवन : दुई स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ
चितवनको कालिका नगरपालिका-७ लाहुरे चोकबाट ३० वर्षीय राजकुमार तामाङलाई डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन गरी ९ एम्पुल लागूऔषधसहित पक्राउ गरिएको छ।
यस्तै, सोही नगरपालिकाको क्लब चोकबाट २४ वर्षीय अमृत बम्जनलाई डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन ८/८ एम्पुलसहित नियन्त्रणमा लिइएको छ।
नवलपरासी पश्चिम : ब्राउनसुगरसहित पक्राउ
पाल्हीनन्दन गाउँपालिका-२ सुगौलीबाट ४० वर्षीय शेष कुमार उपाध्यायलाई ब्राउनसुगर जस्तो देखिने ४.१० ग्राम पदार्थसहित पक्राउ गरिएको छ। उनी मोटरसाइकलमा यात्रा गरिरहेका बेला जाँचका क्रममा पक्राउ परेका हुन्।
पर्सा : २ किलो ५०० ग्राम गाँजासहित वृद्ध पक्राउ
पर्सागढी नगरपालिका-९ बडेरवाबाट ६० वर्षीय धुर्व ठाकुरलाई गाँजा २ किलो ५०० ग्रामसहित पक्राउ गरिएको छ।
कैलाली : दुई छुट्टाछुट्टै स्थानमा लागूऔषध बरामद
धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिकैबाट २४ वर्षीय श्यामलाल राना र २१ वर्षीय रवि चौधरीलाई खैरो हेरोइन जस्तो देखिने १५० मिलिग्राम पदार्थसहित पक्राउ गरिएको छ।
यसैगरी गोदावरी नगरपालिका-१ बुद्धनगरबाट १९ वर्षीया रेनुका चौधरीसहित दुई जनालाई ब्राउनसुगर जस्तो देखिने १.३० ग्राम पदार्थसहित पक्राउ गरिएको छ।
तनहुँ : ट्रामाडोलसहित युवक पक्राउ
आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट गोरखा नगरपालिका-६ बस्ने २५ वर्षीय अनिल अधिकारीलाई ट्रामाडोल ५८८० ट्याब्लेटसहित पक्राउ गरिएको छ। काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बसमा जाँच गर्ने क्रममा लागूऔषधसहित उनी पक्राउ परेका हुन्।
झापा : सिमानाबाट ब्राउनसुगरसहित पक्राउ
भद्रपुर नगरपालिका-३ डाँगीबारीबाट २१ वर्षीय सुन्दर सिवालाई १९.३४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन्।
रुपन्देही : ब्राउनसुगरसहित पक्राउ
सियारी गाउँपालिका-१ सोनारेटबाट २५ वर्षीय विशाल नायकलाई ६.५९ ग्राम ब्राउनसुगर र नगद ३९६० रुपैयाँसहित पक्राउ गरिएको छ।
धनकुटा : खैरो हेरोइनसहित तीन जना पक्राउ
शहीदभूमी गाउँपालिका-१ त्रिवेणीघाटबाट ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई, र ३२ वर्षीय नगेन्द्र राईलाई १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
सिराहा : ठूलो परिमाणमा लागूऔषध बरामद
लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट ५२ वर्षीय जुक्ती लाल पासवानलाई डाइजेपाम, प्रोमेथाजिन, र बुप्रेनोर्फिन गरी १९८/१९८ एम्पुल लागूऔषधसहित पक्राउ गरिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।