धरान – सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले ७८३ किलो गाँजासहित एक ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेटविहीन ट्रक शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो। जाँचको क्रममा ट्रकको ड्राइभर सिटमाथि बनाइएको बक्साभित्र लुकाएर राखिएका २२ वटा पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। पछि उक्त ट्रकको नम्बर प्लेट ना ७ ख २८१ रहेको पुष्टि भएको थियो।
ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ का १८ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरीले पक्राउ परेका दुवै व्यक्ति, गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय, इनरुवा सुनसरीमा बुझाएको जनाएको छ।
यसअघि बुधबार बिहानमात्रै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस, धनकुटाले ४२१ किलो गाँजासहित एक कार नियन्त्रणमा लिएको थियो।
त्यसै दिन केराबारी पोल्ट्री फर्म प्रालिको बिल देखाएर १५० बोरा मल बोकेको ना ५ ख ३२०९ नम्बरको ट्रक पनि शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो। फल्स बटम (नक्कली भुइँ) बनाइएको पाइएपछि उक्त ट्रकलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।