काठमाडौँ – देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायतका पहाडी भूभागमा शनिबार आंशिकदेखि साधारण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै देशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहने बताइएको छ। मधेश, बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा समेत एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।