विराटनगर — भारतको गोवास्थित एक धार्मिक कार्यक्रममा शनिबार बिहान भागदौड हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भएको धार्मिक उत्सवका क्रममा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसास्थित उत्तरी गोवा जिल्ला अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझेका छन्।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजनहरू उक्त मन्दिरमा पूजाआजा गर्न आएका थिए। भागदौड कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घटनालाई प्रमुखताका साथ प्रकाशन गरेका छन्।