विराटनगर– सिराहाको औरही गाउँपालिका – ५ मा दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनाले देशभर चासो पाएको छ । हेलचक्र्याइँ गरेको आरोपमा सरकारले सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ
) वासुदेव दाहाललाई गृह मन्त्रालयले तानेको छ। शुक्रबार बिहान मन्त्रालयले उनलाई तान्दै कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्याललाई सिराहा पठाएको छ।
गृह मन्त्रालयका अनुसार मल्लिकको घर भत्काउने कार्यमा प्रशासनले उचित कदम नचालेको भन्दै दाहाललाई मन्त्रालय तानिएको हो। उता घटनाको गम्भीरताका कारण गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई छानबिनका लागि निर्देशन दिएका छन्।
घर भत्काइएका ठाउँमा महायज्ञ, सर्वत्र विरोध
यस घटनालाई झनै संवेदनशील बनाउने अर्को विषय महायज्ञ रहेको छ। घर भत्काइएका ठाउँमा आगामी चैत १७ देखि महायज्ञ आयोजना गर्न लागिएको छ। यही कारणले घटनाले झन् ठूलो रुप लिएको छ, जसका कारण सर्वत्र विरोध भइरहेको छ। यस विषयमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डित बिहीबार घटनास्थल पुगेर स्थलगत अध्ययन गरेका थिए।
घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न मानव अधिकारकर्मी, दलित अधिकारकर्मी र नागरिक समाजले आवाज उठाइरहेका छन्। अब सरकार कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।