पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा क्रिकेट कप्तान इमरान खान, क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान, शाहिद अफ्रिदी, वासिम अक्रम, बलिउड चलचित्रका पाकिस्तानी कलाकार फवाद खान र आतिफ अस्लम तथा ओलम्पिक स्वर्णपदक विजेता अर्शद नदिमका इन्स्टाग्राम खाताहरू भारतमा अवरुद्ध गरिएको छ।
विराटनगर — भारतले पाकिस्तानविरुद्ध प्रतीकात्मक तर कडाभावका कदमहरू क्रमशः अघि बढाएको छ। शनिबारदेखि भारतमा पाकिस्तानी कलाकार र खेलाडीका सामाजिक सञ्जाल खाता हेर्न नपाइने, व्यापारिक प्रतिबन्ध थपिने र डाक सेवा पूर्ण रूपमा रोक्ने निर्णय सार्वजनिक गरिएको छ।
भारतको सञ्चार मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानबाट हवाई तथा सतहमार्ग हुँदै आउने सबै प्रकारका डाक र पार्सल सेवा रोक्ने निर्णय गरिएको उल्लेख छ। समाचार संस्था एएफपीका अनुसार यो निर्णय अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा पर्यटकमाथि भएको आतंकी आक्रमणपछि आएको हो।
उक्त आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको थियो। भारतले उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ भने पाकिस्तानले यसलाई अस्वीकारेको छ।
त्यही दिन पाकिस्तानले सतहदेखि सतह प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको घोषणा गरेपछि दुवै देशबीचको तनाव थप चुलिएको हो। साथै शनिबारदेखि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा क्रिकेट कप्तान इमरान खान, क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान, शाहिद अफ्रिदी, वासिम अक्रम, बलिउड चलचित्रका पाकिस्तानी कलाकार फवाद खान र आतिफ अस्लम तथा ओलम्पिक स्वर्णपदक विजेता अर्शद नदिमका इन्स्टाग्राम खाताहरू भारतमा अवरुद्ध गरिएको छ।
यी खाताहरू भारतमा खोल्न खोज्दा ‘कानुनी अनुरोधका कारण उपलब्ध छैन’ भन्ने सन्देश देखिने बताइएको छ। यसअघि अप्रिल २८ मा भारतले एक दर्जनभन्दा बढी पाकिस्तानी युट्युब च्यानललाई ’उत्तेजक सामग्री’ प्रसारण गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो।
भारत र पाकिस्तानबीचको सम्बन्ध विगत केही वर्षदेखि अत्यन्त तनावपूर्ण छ। दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरिसकेका छन् । मुख्य सीमा नाका बन्द छन् । हवाईसीमामा समेत एकअर्कालाई प्रवेश अनुमति दिइएको छैन।
भारतको सिपिङ महानिर्देशनालय (डीजीएस) को आदेशअनुसार पाकिस्तानी झण्डा बोकेका जहाजहरूलाई भारतीय बन्दरगाहमा प्रवेश निषेध गरिएको छ भने भारतीय जहाजहरूलाई पनि पाकिस्तान जान नदिने निर्णय गरिएको छ । यद्यपि विश्लेषकहरूका अनुसार यी सबै कदमहरू प्रतीकात्मक हुन् किनभने दशकौँदेखि दुई देशबीच व्यावसायिक सम्बन्ध न्यूनस्तरमै सीमित छ।