विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग एक घण्टा लामो फोन वार्ता गरेका छन्, जसलाई उनले धेरै राम्रो भनेका छन्। यो वार्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीको एक दिनपछि भएको हो।
वार्तापछि राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको नेतृत्वमा यसै वर्ष स्थायी शान्ति स्थापना सम्भव हुने विश्वास व्यक्त गरे। दुवैले रुसद्वारा नियन्त्रणमा रहेको जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रको अमेरिकी स्वामित्वको सम्भावनाबारे पनि छलफल गरेका थिए।
यो सौहार्दपूर्ण वार्ता गत महिना ह्वाइट हाउसमा भएको भेटघाटको विपरीत देखिएको छ, जहाँ ट्रम्प, जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच तनावपूर्ण संवाद भएको थियो।
बुधबारको यो वार्ता ओभल अफिसमा भएको भेटपछि पहिलो पटक भएको हो। त्यसयता दुबै पक्षका टोलीहरूले साउदी अरेबियामा भेटघाट गरेका थिए र ३० दिने युद्धविरामको प्रस्तावमा छलफल गरेका थिए। युक्रेन र अमेरिकाले समर्थन गरेको यो प्रस्तावलाई पुटिनले अस्विकारेका थिए।
ट्रम्पसँगको कुराकानीमा जेलेन्स्कीले ऊर्जा पूर्वाधार, रेल र बन्दरगाह सुविधाहरूमा आक्रमण रोक्ने आंशिक युद्धविरामको लागि आफू तयार रहेको बताए। तर, उनले मस्कोले सम्झौताका सर्तहरू उल्लङ्घन गरेमा युक्रेनले प्रतिकार गर्ने चेतावनी दिए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा लेखेका छन् कि यो वार्ताले युक्रेन र रुसका आवश्यकताहरूलाई समायोजन गर्न उद्देश्य राखेको थियो । युद्धविराम प्रयासहरू सही दिशामा अघि बढिरहेको बताए ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पले युरोपमा अतिरिक्त हवाई रक्षा प्रणालीहरू प्राप्त गर्न युक्रेनलाई मद्दत गर्ने सहमति भएको बताए। साथै युद्धभूमिको अवस्थाको विकाससँगै दुबै देशका रक्षा टोलीहरूबीच नजिकबाट सूचना आदानप्रदान गर्ने सहमति भएको छ।
राष्ट्रपति जेलेन्स्कीले यो वार्तालाई 'सकारात्मक', 'खुला' र 'धेरै सार्थक' भनेका छन्। उनले विश्वास व्यक्त गरेका छन् कि अमेरिकाको नेतृत्वमा यसै वर्ष स्थायी शान्ति स्थापना सम्भव छ। तर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिन पूर्ण युद्धविराममा सहमत नहुने विश्वास व्यक्त गरेका छन्, विशेषगरी युक्रेनी सेना रुसको पश्चिमी कुर्स्क क्षेत्रमा रहेको अवस्थामा।
ट्रम्पले भनेका छन् कि यो वार्ताको धेरै हिस्सा पुटिनसँगको अघिल्लो दिनको कुराकानीमा आधारित थियो, जसको उद्देश्य रुस र युक्रेनका आवश्यकताहरूलाई समायोजन गर्नु थियो। अब, युक्रेन र अमेरिकाका प्राविधिक टोलीहरू केही दिनभित्र साउदी अरेबियामा भेट्ने अपेक्षा गरिएको छ।
गत महिना ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले युक्रेनलाई दिइएको अमेरिकी सैन्य र राजनीतिक समर्थनको लागि पर्याप्त आभार व्यक्त नगरेको आरोप लगाएका थिए । 'तेस्रो विश्वयुद्ध' को जोखिम उठाएको बताएका थिए। त्यसपछि, अमेरिकाले अस्थायी रूपमा युक्रेनलाई सैन्य सहायता र गुप्तचर जानकारी साझेदारी निलम्बन गरेको थियो, तर कूटनीतिज्ञहरूले सम्बन्ध सुधार गरेका थिए । मार्च ११ मा दुबै पक्षले युद्धविराममा सहमति गरेका थिए।
ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमणहरू रोक्न सहमति जनाएका थिए। तर उनले पूर्ण युद्धविरामको लागि युक्रेनका समर्थकहरूले सैन्य सहायता रोक्नुपर्ने शर्त राखेका थिए, जुन किएभका युरोपेली सहयोगीहरूले पहिले नै अस्वीकार गरेका थिए।
यी आक्रमणहरूका बाबजुद, किएभ र मस्कोले बुधबार कैदीहरूको आदानप्रदान गरेका थिए, जसमा प्रत्येक पक्षले १७५ युद्धबन्दीहरू रिहा गरेका थिए। जेलेन्स्कीले यसलाई 'सबैभन्दा ठूलो' मध्ये एक भनेका छन् र रुसले थप २२ 'गम्भीर घाइते' सैनिकहरू समावेश गरेको बताए।