काठमाडौँ /तनहुँ — स्रोत नखुलेको एक करोडभन्दा बढी नगदसहित देशका दुई स्थानबाट ६ जना पक्राउ परेका छन्।

काठमाडौँको पिङ्गलास्थानबाट आइतबार साँझ ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि २ वटा मोटरसाइकलमा शंकास्पद रुपमा आएका उनीहरूलाई रोकी खानतलासी गर्दा रकम फेला परेको हो। झोलामा रहेको उक्त नगदको स्रोत खुल्न नसकेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहोराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट १४ लाख रुपैयाँसहित गोरखा शहिद लखन गाउँपालिका–८ का २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मुग्लिङ पुल जिप अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूबाट नगद फेला परेको प्रहरीको भनाइ छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।