काठमाडौ— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानबीच चुलिंदो तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै देशलाई अधिकतम संयम अपनाउन अपिल गरेका छन्। उनले स्पष्ट रूपमा भनेका छन्, ‘सैन्य समाधान कुनै समाधान होइन।’

एक विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले भनेका छन्, ‘भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेको छ। म दुवै देशका सरकार र नागरिकहरूको सम्मान गर्छु र संयुक्त राष्ट्र शान्ति अभियानमा दुवै देशको योगदानप्रति आभार प्रकट गर्दछु। यस्तो अवस्थामा दुवै देशबीचको सम्बन्ध यति खतरनाक मोडमा पुगेको देख्दा मलाई गहिरो पीडा लागेको छ।’

महासचिव गुटेरेसले भारतको पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले भनेका छन्, ‘सर्वसाधारणलाई लक्षित गर्नु पूर्णतः अस्वीकार्य हो। दोषीहरूलाई न्यायको कठघरामा ल्याउनैपर्छ।’

उनको चेतावनी छ— ‘यस कठिन समयमा द्वन्द्व चाँडै नियन्त्रण बाहिर जान सक्छ। त्यसैले यो अधिकतम संयम अपनाउने समय हो। म दुवै देशलाई स्पष्ट सन्देश दिन चाहन्छु— कृपया कुनै गल्ती नगर्नुहोस्। सैन्य समाधान, वास्तवमा, कुनै समाधान होइन।’ (स्रोतः बीबीसी)