विराटनगर– हेटौंडामा जमिन भासिएर सिंगल क्याप बलेरो गाडी नै आँखा अगाडीबाट हराएको रहस्यमय घटनाको खानी तथा भूगर्भ विभागको चार सदस्यीय विशेषज्ञ टोली मंगलबार बिहानदेखि अध्ययन थालेको छ।
टोलीले हेटौंडा उपमहानगरपालिका वडा १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा गाडी हराएको स्थानमा माटोको बनोट, भूमिगत जलस्रोत तथा चुबकीय क्षेत्रको विस्तृत अध्ययन गरिरहेको छ। विभागका भूगर्भविद् नारायण अधिकारीका अनुसार घटनास्थलको भौगोलिक बनावट, सतह मुनिको माटोको तह र सम्भावित भूमिगत असमान्यतालाई केन्द्रमा राखेर तथ्यांक संकलन गरिंदैछ ।
टोलीले अनुसन्धानका लागि प्रोटोन म्याग्नेटोमिटर जस्ता वैज्ञानिक उपकरण प्रयोग गरेको छ। अधिकारीले भने, ‘यो उपकरणबाट भूगर्भको चुबकीय क्षेत्र र त्यसभित्र रहेका संरचनात्मक वस्तुको अवस्थाबारे संकेत प्राप्त गर्न सकिन्छ।’
गत शुक्रबार उक्त क्षेत्रको भित्री सडकखण्डमा माछा बोक्ने ना. ४ च. ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी घाँस काट्ने मेसिनसहित पार्क गरिएको थियो। त्यस क्रममा गाडीको अगाडीको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने प्रयासकै क्रममा एक्कासि जमिन भासिएर सम्पूर्ण गाडी नै बेपत्ता भएको थियो।
स्थानीय र सुरक्षा निकायले लगातार तीन दिनसम्म खोजी गरे पनि गाडीको अत्तोपत्तो लागेन। त्यसपछि हेटौंडा उपमहानगरपालिकाले आइतबार खानी तथा भूगर्भ विभागसँग पत्राचार गरी विशेषज्ञ टोली पठाउन आग्रह गरेको थियो।अब भूगर्भ विज्ञ टोलीको अध्ययनपछि मात्र घटनाको वैज्ञानिक र यथार्थिक कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ। रहस्यमय ढंगले जमिनमै भासिएर बेपत्ता भएको गाडीको खोजीले भूगर्भीय चेतावनीका संकेत पनि दिन सक्ने विज्ञहरूको भनाइ छ।