विराटनगर— आज ७३औँ कानुन दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। ‘न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासन प्रवद्र्धन’ भन्ने उद्देश्यसहित मनाइँदै आएको यस दिवसमा न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ बनाउने सन्देश दिइएको छ।

कानुन र न्यायप्रति चासो राख्नेहरूका लागि विशेष मानिने यस दिनको सुरुआत २००९ साल वैशाख २६ मा प्रधान न्यायालय ऐनमा राजा त्रिभुवनबाट लालमोहर लगाइएको ऐतिहासिक स्मरणमा गरिएको हो। प्रजातन्त्र स्थापनापछि २००८ सालमा जारी गरिएको प्रधान न्यायालय ऐन २००९ पुस ८ मा गजेटमा प्रकाशित भइ प्रधान न्यायालय गठन भएको थियो।

यही जगमा पछि सर्वोच्च अदालत स्थापना भएको हो।यही दिनदेखि कार्यपालिका र न्यायपालिकाबीचको पृथकीकरणसहित स्वतन्त्र, निष्पक्ष र तटस्थ न्याय प्रणालीको औपचारिक सुरुआत भएको मानिन्छ।

कानुन दिवसका अवसरमा आज अपराह्न सर्वोच्च अदालत परिसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि र प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुँदैछन्।

#कानुन दिवस