विराटनगर– नेपाल सरकार पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकको सुरक्षाप्रति पूर्णरूपमा सचेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।विज्ञप्तिमार्फत मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही कार्य गरिरहेको शुक्रबार जानकारी दिएको हो।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्णरूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि इस्लामावादस्थित नेपाली राजदूतावासले सम्पूर्ण नेपालीहरूसँग नियमित सम्पर्कमा रही आवश्यक समन्वय गरिरहेको छ।’परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली नागरिकलाई कुनै पनि आकस्मिक अवस्थामा नेपाली राजदूतावाससँग जुनसुकै समयमा सम्पर्क गर्न आग्रह पनि गरेको छ।

भारतमा रहेका नेपालीहरूलाई पनि सुरक्षित रहन आग्रह गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहलगाम आक्रमणपछि भएको विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो।

दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर भारत सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह पनि गरेको छ। 'भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न अनुरोध छ,' दूतावासले भनेको छ।भारतमा बस्ने नेपालीहरूलाई आवश्यक सहयोग लागि दूतावासले सम्पर्क नम्बर पनि जारी गरेको छ।