विराटनगर– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानमा ‘दुर्गा प्रसाईं, क्रान्तिकारी ठग’ पुष्टि भएका छन् । सार्वजनिक रुपमा आममान्छेलाई उक्साउने गरी क्रान्तिकारी अभिव्यक्ति दिएर निरन्तर चर्चामा रहेको प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्य प्रयोजनमा दुरुपयोग गरेको सीआईबीले निष्कर्ष निकालेको छ।

सीआईबीले हालसम्म गरेको अनुसन्धानबाट प्रसाईंले तीनवटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ ‘राउण्ड ट्रिपिङ्ग’मार्फत शंकास्पद तरिकाले कारोबार गरेको देखिएको छ। ती कम्पनीहरू पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र यूए मेडिको सप्लाइज एण्ड इक्विपमेन्ट प्रालि हुन्।

प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र तत्कालीन एनसीसी बैंक (हाल कुमारी बैंक)बाट लिएको ऋण अन्य बैंकको कर्जा तिर्न तथा आफ्नै स्वामित्वमा रहेका कम्पनीहरूमा रकम स्थानान्तरण गर्न प्रयोग गरेको पाइएको छ। राष्ट्र बैंक ऐनअनुसार कर्जा सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ।

सीआईबीको अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ। अनुसन्धानका क्रममा प्रसाईंसँग विस्तृत बयान लिइएको छ। बयानमा उनले एक बैंकको ऋण अर्काे बैंकको कर्जा चुक्ता गर्न र पार्टीलाई भुक्तानी गर्न प्रयोग गरेको स्वीकारेका छन्।

प्राप्त विवरणअनुसार कुमारी बैंकबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख, इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एट्रिअमको नाममा ५ करोड र गुडविल फाइनान्सबाट युए मेडिकाको नाममा १० करोड कर्जा लिइएको थियो।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार दुर्गा प्रसाईं अन्तिम हिताधिकारी रहेका ३१ वटा कम्पनीले २०८१ असोज सम्ममा पाँच वटा बैंकसँग ७ अर्ब २५ करोड ८७ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको देखिएको छ।

प्रसाईंले झापास्थित बीएन्डसी मेडिकल कलेज टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको कर्जाको सावाँ र ब्याज विगत चार वर्षदेखि नियमित रुपमा तिरेका छैनन्।सीआईबीले प्रसाईंविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा–८ अनुसार कर्जा दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। यसैअनुसार उच्च अदालत पाटनबाट पक्राउ पूर्जीसमेत जारी भइसकेको छ।

हाल उनी काठमाडौँ प्रहरीको हिरासतमा छन्। उनीमाथि राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार तीनकुने घटना र बैंकिङ कसुरसम्बन्धी अनुसन्धान प्रतिवेदन करिब एकैपटक बुझाउने तयारी छ। प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदन जेठको दोस्रो साता विशेष सरकारी वकिल कार्यालयमा बुझाइनेछ।