विराटनगर — भारतको आम आदमी पार्टी (आप) र भारतीय जनता पार्टी (भाजपा, बीजेपी) को नेपाली संस्करण जस्तो लाग्ने आम जनता पार्टी (आजपा, एजेपी) ले दलाल दलतन्त्रविरुद्ध देशव्यापी सप्ताहव्यापी भन्डाफोर अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीले वर्तमान गणतन्त्रलाई जनताको नभइ दलका नेता र तिनका आसेपासे झोलेहरूका लागि मात्र सीमित भएको आरोप लगाउँदै ‘दलीय गणतन्त्रको भन्डाफोर गरौँ, जन गणतन्त्रको दिशामा अघि बढौँ !!’ भन्ने मूल नाराका साथ अभियान अघि बढाउने जनाएको छ। अभियानको औपचारिक जानकारी पार्टीका प्रवक्ता चन्द्र भूषण साहले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।
भन्डाफोर अभियान सञ्चालनका लागि सातै प्रदेशमा नेतृत्व तोकिएको छ। संघीय राजधानी काठमाडौँमा अध्यक्ष प्रभु साह स्वयंले नेतृत्व गर्नेछन्। कोशीमा तिलक थापा मगर, मधेसमा चन्द्रभूषण साह, लुम्बिनीमा त्रिभुवन साह, गण्डकीमा ज्ञानेन्द्र कुमार तामाङ र सुदूरपश्चिममा समिना हुसैनलाई कमाण्ड जिम्मा दिइएको छ।
त्यस्तै संगठनलाई थप व्यवस्थित र परिणाममुखी बनाउन पार्टीको संगठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभाग प्रमुखमा रविन्द्र प्रसाद सिंहलाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
बैठकले आन्दोलन र संगठन विस्तारलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले सदस्यता वितरण र संगठन निर्माण अभियानलाई तीव्र बनाउने निर्णय पनि गरेको छ। कार्य सम्पादनको मूल्यांकनका आधारमा लुम्बिनी प्रदेशबाट डा. उषमान अली, शम्भु जयसवाल, भगत र विद्या शर्मालाई पार्टी सचिवालय सदस्यमा मनोनीत गरिएको आजपाले जनाएको छ।