काठमाडौं — नेपालमा एक महिनाभित्र भएका ५०१ आगलागी घटनामा ६ जनाको ज्यान गएको छ भने ३८ परिवार विस्थापित भएका छन्। आगलागीबाट ८७ घर तथा ५७ गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै, १४६ पशुचौपायाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक छन्। घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र ३ बालिका घाइते भएका छन्।
आगलागीका कारण  ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगो नियन्त्रणका लागि तीन हजार ६ सय १४ प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता आचार्यले जानकारी दिए।

प्रहरीको  विवरणअनुसार सबैभन्दा बढी कोशी प्रदेशमा आगलागीका  १ सय ३५ घटना भएका छन्। त्यसपछि मधेश प्रदेशमा १ सय ५, लुम्बिनीमा ६४, बागमतीमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकीमा ३३, कर्णालीमा ३० र सुदूरपश्चिममा ४१ आगलागीका घटना दर्ता भएका छन् । विशेषज्ञहरूका अनुसार वर्षा कम हुनु, अत्यधिक सुख्खा मौसम र असावधानीका कारण आगलागीका घटना बढिरहेका छन्। आगलागीको जोखिम अझ बढ्न सक्ने भएकाले गृह मन्त्रालयले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।