विराटनगर – भारतको जम्मु–कश्मीरस्थित पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारलाई नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार भेटेका छन्।
राजदूत श्रीवास्तवले रुपन्देहीस्थित सुदीपको निवासमा पुगेर शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन्। भेटका क्रममा उनले भारत सरकार दोषीलाई न्यायको कठघरामा ल्याउने विषयमा दृढ रहेको स्पष्ट पारेका छन्। ‘पीडित परिवारहरूलाई न्याय दिलाइनेछ,’ श्रीवास्तवको भनाइ उद्धृत गर्दै काठमाडौँस्थित भारतीय दूतावासले भनेको छ।
घुमघामका लागि पहलगाम पुगेका सुदीपलाई हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेका थिए। उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो। भारत सरकारले घटनापछि पाकिस्तानस्थित आतंकवादी अखडालाई लक्षित गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य अभियान सञ्चालन गरेको थियो। उक्त कारबाहीमा आतंकवादी संरचनालाई परास्त गरिएको भारतको दाबी छ।
#सुदीप न्यौपाने