विराटनगर — वैदिक संस्कृति र रामायणको आदर्श पात्र, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस एवं जयन्ती मंगलबार देशभर श्रद्धा र भक्तिपूर्वक विशेष पूजा–आराधना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्तीमा देशभरका रामजानकी मन्दिरहरूमा विशेष पूजाको आयोजना गरिन्छ। त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा जोतेको भूमिबाट सीताको उत्पत्ति भएको धार्मिक विश्वास छ। भगवान् विष्णुको छैठौँ अवतार श्रीरामको जन्मपूर्व माता लक्ष्मी सीताका रूपमा पृथ्वीमा अवतरित भएको वर्णन धर्मग्रन्थहरूमा गरिएको छ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार सीता पतिव्रता, सत्यव्रती र आदर्श नारीको प्रतीकका रूपमा सम्मानित छन्। राम र सीताको विवाहपछि राम वनवास गएका बेला सँगै गएकी सीतालाई रावणले हरण गरे पनि उनले आफ्नो पतिव्रता धर्म नत्यागेको उल्लेख धर्मग्रन्थहरूमा पाइन्छ।
रावणमाथि विजय प्राप्त गरी राम अयोध्या फर्किएपछि पनि सीताले लोकनिन्दाबाट श्रीरामलाई जोगाउन गर्भवती अवस्थामै वनवास जान स्वीकार गरेकी थिइन्। वाल्मीकि आश्रममा लव र कुशलाई जन्म दिइ शिक्षा–दीक्षा दिएकी सीताको समर्पण र त्यागले उनलाई सम्पूर्ण नारीका लागि प्रेरणाको स्रोत बनाएको गौतम बताउँछन्।
रामायणका अनुसार लव–कुशले रामकथामार्फत सीताको निर्दोषताबारे समाजमा सन्देश दिँदा जनताले उनलाई पुनः दरबार बोलाएका थिए। तर केहीले शुद्धतामाथि प्रश्न उठाउँदा सीताले पृथ्वीमातालाई आफूलाई भित्र लिन आग्रह गर्दै भूमिमा समाहित भएकी थिइन्।
‘माटोबाट उत्पत्ति भएकी सीता माटोमै लोप भइन्’ भन्ने भावनाले यो पर्वलाई अझ गहिरो बनाएको छ। यस दिन सीताको स्मृतिमा जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा र मेला लाग्ने गरेको छ। साथै राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा पनि भक्तिसङ्गीत र प्रवचनसहित विशेष पूजा कार्यक्रम सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा. गोविन्द टन्डनले जानकारी दिए। यस्तै गोकर्णेश्वर नगरपालिका–२, भूमिस्थलीस्थित रामजानकी मन्दिरमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।