विराटनगर —  जनताको करबाट पारिश्रमिक लिन नमिल्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गरेकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले वैशाखसम्मको तलबभत्ता भने बुझिसकेको पाइएको छ।

प्रदेशसभा सचिवालयका अनुसार उनले मासिक ५२ हजार २ सय रुपैयाँ तलब, १७ हजार आवास, एक हजार पाँच सय बिजुली र दुई हजार सञ्चार भत्ता गरी कूल ७२ हजार ७ सय रुपैयाँ लिँदै आएकी थिइन्। यो सुविधा उनले सांसद पदमा नियुक्त भएदेखि निरन्तर रूपमा बुझ्दै आएकी थिइन्।

बैठक भत्ता अलग्गै रूपमा एक हजार रुपैयाँ रहेको छ, जुन बैठकमा सहभागिता जनाएपछि मात्र दिइन्छ। संसदमा हालसम्म पाँच वटा अधिवेशन सञ्चालन भएका छन्, जसअन्तर्गत जम्मा ८३ बैठक बसेका थिए। तीमध्ये गुरुङले केवल ३४ वटा बैठकमा मात्र उपस्थिति जनाएकी थिइन्।

उनले राजीनामा पत्रमा भनेकी छिन्, ‘राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ, आजकै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु।’ जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेकी गुरुङ हाल बेलायतमा रहेको र त्यहींबाट राजीनामा पठाएको जनाइएको छ।
 

#गीता गुरुङ