विराटनगर— सहकारी ठगीसम्बन्धी आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सांसद राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
राई काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको सञ्चालकसमेत रहेकी थिइन्। उनकै कार्यकालमा उक्त सहकारीमा ठूलो मात्रामा रकम हिनामिना भएको प्रहरी अनुसन्धानमा देखिएको छ।
गत वर्ष भदौ २ मा नै उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि लामो समयसम्म सत्ताको संरक्षणमा उनी जोगिएको आरोप लाग्दै आएको थियो। तीव्र आलोचनापछि वैशाख १३ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मंगलबार सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ। तर राईविरुद्धको अनुसन्धान फितलो रहेको भन्दै प्रहरी र सरकारी वकिलको कार्यालयमाथि प्रश्न उठ्न थालेको छ।
#माया# राई