विराटनगर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा १९ वैशाखमा जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाबारे खानी तथा भूगर्भ विभागले प्रारम्भिक अध्ययन पूरा गर्दै गम्भीर निष्कर्ष सार्वजनिक गरेको छ। विभागको अध्ययन अनुसार जमिनमुनिको कमजोर संरचना र लापर्बाहीले गरिएको बोरिङका कारण जमिन भासिएर सिङ्कहोल बनेको हो।
२३ र २४ वैशाखमा डा. नारायण अधिकारीको नेतृत्वमा गएको भूगर्भविद् टोलीले घटनास्थलको अध्ययन गर्दा केन्द्र भागमा कम्तीमा ११ मिटर गहिरो सिङ्कहोल देखिएको पुष्टि भएको छ। टोलीका सदस्य भूगर्भविद् कृष्ण पाण्डेले सिल्टयुक्त माटो बोरिङ गर्दा बाहिर निकालिएकाले जमिन कमजोर भइ सिङ्कहोल बनेको बताए।
गम्भीर चेतावनी दिंदै अध्ययनले जमिनमुनिबाट सिल्ट मिसिएको पानी निरन्तर निस्किरहेकाले भविष्यमा जमिन अझै भासिने जोखिम रहेको जनाएको छ। २०६२ मै विभागले तयार पारेको भूगर्भीय नक्सामा समेत गैरीगाउँलाई उच्च जोखिमयुक्त क्षेत्र भनेर उल्लेख गरिएको थियो।
१९ वैशाखमा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी सडक किनारमा रोकेको अवस्थामा जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो। चालक र सहचालक भागेर ज्यान जोगाउन सफल भए पनि गाडी अहिलेसम्म फेला परेको छैन।
गाडी निकाल्ने प्रयासका क्रममा थप जोखिम देखिएकाले हेटौँडा उपमहानगरपालिकाले उक्त क्षेत्रलाई तत्काल शील गर्दै सुरक्षाकर्मी परिचालन गरेको उपमेयर राजेश बानियाँले जानकारी दिएका छन्।भूगर्भविद् अधिकारीले भविष्यमा यस्तो दुर्घटना रोक्न निर्माण कार्य अघि अनिवार्य भूगर्भ परीक्षण गर्नुपर्ने र विशेषगरी सिँचाइ, पोखरी तथा बोरिङका कार्य अत्यन्त सावधानीपूर्वक गर्नुपर्ने सुझाव दिएका छन्।
#सिङ्कहोल