विराटनगर – सरकारी र बैंक वित्तीय संस्थाका नक्कली कागजात बनाउने गिरोहको काठमाडौँस्थित कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामा गोरखाको भीमसेनथापा गाउँपालिका–१ का ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ की २३ वर्षीया अन्जु खत्री छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार तारकेश्वर नगरपालिका–७, फुटुङस्थित नक्कली कागजात निर्माण गर्ने कार्यालयमा छापा मारेर पक्राउ गरेको हो।

एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरूले सरकारी कागजात, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजात तथा बैंक तथा वित्तीय संस्थाका कागजातहरू नक्कली बनाउँदै आएको खुलेको छ।प्रहरीका अनुसार बयलकोटीले आठ वर्षदेखि नक्कली कागजात बनाउने कार्य गरिरहेका थिए। उनले सवारी चालक अनुमतिपत्रदेखि जग्गाधनी पूर्जासम्म नक्कली बनाउने गरेको पाइएको छ।

यसमा मुख्य योजनाकार बयलकोटी नै रहेको र उनले फुटुङस्थित कोठा भाडामा लिएर दुई सहयोगीसहित सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।उनीहरूले मासिक १० देखि १५ हजार रुपैयाँ तलबमा कामदार राखेर सेवा उपलब्ध गराउँदै आएका थिए। प्रहरीले कारखानाबाट डिपेन्डेन्ट भिसाका लागि आवश्यक पर्ने म्यारिज सर्टिफिकेटलगायत ठूलो संख्यामा नक्कली कागजात बरामद गरेको छ।पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।

#नक्कली