विराटनगर– मुस्लिम धर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्रका रूपमा परिचित साउदी अरेबियाको मक्का र मदिनामा प्रत्येक वर्ष लाखौँ हजयात्री पुग्छन्। तर यो धार्मिक यात्रा सहज भने छैन । 

साउदी सरकारले हज अवधिमा अनुमति बिना अवैध रूपमा हज गर्न खोज्नेहरूमाथि कडा कारबाही गर्ने घोषणा गरेको छ। अनुमति बिना हज गर्न प्रयास गर्ने कुनै पनि व्यक्तिलाई एक लाख साउदी रियालसम्म जरिवाना, गृह देश निकाला र १० वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाइने साउदी गृह मन्त्रालयले जनाएको छ।

सन् २०२५ को हजका लागि नेपालबाट १ हजार १ सय ७१ जना मुस्लिम धर्मावलम्बी साउदी अरेबिया जाने भएका छन्।पहिलो चरणमा ५५ जना नेपाली हजयात्री आगामी जेठ ३ मा मक्का–मदिना प्रस्थान गर्ने तयारीमा छन्।यद्यपि यस वर्षका लागि नेपाललाई १ हजार २ सयभन्दा बढी कोटा छुट्याइएको भए पनि ११ उडानमार्फत कुल १,१७१ जना हजयात्री मात्रै साउदी प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

पहिलो समूहलाई साउदीस्थित नेपाली दूतावासले स्वागत र सहजीकरण गर्नेछ। यस क्रममा नेपाली राजदूत डा. नरेश विक्रम ढकाल, वाणिज्यदूत सिर्जना अधिकारी र दूतावास परिवारका साथै विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ।यस वर्ष हजमा नेपालसहित विश्वभरका २८ लाखभन्दा बढी मुस्लिम धर्मावलम्बी सहभागी हुने अनुमान गरिएको छ।
#हजयात्री