विराटनगर– शान्ता र तिलकुमारी नियमित बिहानको हिँडाइमा निस्कन्थे। तर आजको बिहान उनीहरूको जीवनको अन्तिम बिहान बन्यो।चालकको असावधानी र लापर्बाहीले दुई परिवारमा अपूरणीय शोकको छायाँ छोडिदिएको छ।

सधैँझैं बिहानको चिसो हावासँगै मन हलुका पार्न मर्निङ वाकमा निस्किएका उनीहरुको जीवन एक्कासि सडकमै अन्त्य भयो। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, बसन्तपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा उनीहरूको ज्यान गएको हो।

अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको सवारीले बिहान करिब पौने ६ बजे दुवै जनालाई ठक्कर दिएको थियो।दुर्घटनामा ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझी गम्भीर घाइते भइ घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।

दुर्घटनापछि सवारी चालकसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएको र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।

#शान्ता #तिलकुमारी