विराटनगर — करोडौँ रुपैयाँ ठगी अभियोग लागेका तथा मलेसियामा आश्रय लिएर बसेका फरार अभियुक्त गीतेन्द्रबाबु राई (जीबी) को नामलाई लिएर नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सगरमाथा बेसक्याम्पमा हल्का शैलीमा जवाफ फर्काएको दृश्यले गम्भीर आपराधिक मुद्दालाई राजनीतिक हाँसोमा रूपान्तरण गरिएको टिप्पणी उत्पन्न गराएको छ।

शनिबार बिहान सगरमाथा बेसक्याम्पमा भएको अनौपचारिक संवादमा उक्त घोचपेच भएको हो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा हिमाल आरोहण क्षेत्रको समस्या, जलवायु संकट र पर्यटन नीतिमाथि गरिएको संवादमा सहभागी रहेका आरोही मिङ्मा शेर्पाले ठगी अभियुक्त राईको नाम उच्चारण गर्दै कटाक्ष गरेका थिए।

‘गृहमन्त्रीज्यू गृहमन्त्री हुनुभन्दा पहिला ‘जीबी राई खोइ ?’ भन्नुहुन्थ्यो, अहिले उहाँ कहाँ छन् थाहा छैन,’ भन्ने मिङ्माको भनाइपछि उपस्थित भीडमा हाँसोको फोहरा छुटेको थियो। तर गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लेखकले जवाफमा उक्त प्रसंगलाई अझ हल्कै शैलीमा लिँदै भने, ‘मैले होइन, त्यो बेलाका मन्त्रीहरूले खोज्छौँ भनेका थिए।’ यसपछि फेरि हाँसो चल्यो।

राई पछिल्ला वर्षहरूमा नेपालका कैयौं सहकारीहरूमार्फत अर्बौं रुपैयाँ ठगी गरेर फरार भएका चर्चित नाम हुन्। प्रहरीले अन्तर्राष्ट्रिय रेड कर्नर नोटिस जारी गरेपनि उनी मलेसियामा खुलेआम देखिने गरेका छन्। पीडितहरूले वर्षौं देखि न्यायको माग गरिरहे पनि ठगीको मुद्दा गम्भीर रूपमा नलिइएको आरोप लाग्दै आएको छ। 

राजनीति र अपराधबीचको सम्बन्धमाथि प्रश्न

राईको नाम सत्तारूढ दल र मन्त्रीहरूसँग जोडिँदै आएकाले यो विषय सधैँ विवादास्पद रहँदै आएको हो। सार्वजनिक स्थलमा मन्त्री स्वयंले अभियुक्तको नामलाई हाँसोको प्रसंग बनाउनुले नागरिकको आक्रोश झनै चर्काउने विश्लेषकहरू बताउँछन्।

‘जुन व्यक्तिको कारण हजारौँको जीवन बर्बाद भयो, उसलाई लिएर मन्त्री र राजनीतिक पात्रहरूले मजाक गर्न मिल्दैन,’ भन्छन् एक कानुनविद्, ‘यो पीडितको घाउमा नुन छर्कनु सरह हो।’

साथै यो घटनाले देखाएको अर्को यथार्थ भनेको राजनीतिमा पद प्राप्त भएपछि विगतका अभिव्यक्ति र प्रतिबद्धता कसरी विस्मृत हुन्छन् भन्ने कुरा पनि हो। जीबी राई खोज्ने घोषणाबाट सत्ता पुगेर चुप लाग्ने प्रवृत्तिप्रति यो घटनाले चित्त दुखाएको धेरैले सामाजिक सञ्जालमा लेखेका छन्।

सगरमाथा जस्तो संवेदनशील क्षेत्र, जलवायु संकटको सन्देश दिने थलो र अन्तर्राष्ट्रिय पर्यटकहरूको उपस्थितिमा सार्वजनिक रूपमा यस्तो हल्का व्यवहार देखिनु नेपालको राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपन झल्काउने उदाहरण बनेको छ।
 

#जीबी# राई# खोइ