विराटनगर— गोरखा नगरपालिका–१०, छेपेटारमा १७औँ शताब्दीको मन्दिरको भग्नावशेष फेला परेको छ। पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट उक्त भग्नावशेष फेला परेको हो।
विगत वर्ष लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणको क्रममा भग्नावशेष भेटिएपछि महादेवस्थान संरक्षण तथा विकास समितिले पुरातत्व विभागलाई जानकारी गराएको थियो। विभागले एक वर्षपछि स्थलगत अध्ययन थालेर हालसम्म करिब ७० प्रतिशत उत्खनन सम्पन्न गरेको जनाएको छ।
‘इँटाको गारो, ढुंगा, थाम राख्ने आधार, तामाका दियो, सिक्का र अन्य धातुका सामग्री भेटिएका छन्,’ अधिकृत अधिकारीले भने, ‘इँटा र मन्दिरको डिजाइनको आधारमा १७औँदेखि १८औँ शताब्दीको मन्दिर भएको प्रारम्भिक अनुमान गरेका छौँ।’
उक्त स्थलमा २०३४ सालमा राममन्दिर निर्माणका क्रममा पनि केही भग्नावशेष नष्ट भएको थियो। पछिल्लो पुनर्निर्माणको तयारीमा एक्साभेटर प्रयोग गर्दा पिपलको जरासहित भग्नावशेषको थप क्षति भएको अधिकारीले बताए।
‘दक्षिण–पूर्वतर्फ रहेको राममन्दिर पनि सम्भवतः पुरानो संरचनामाथि बनाइएको अनुमान छ,’ उनले भने, ‘सम्पूर्ण भाग उत्खनन गरी अध्ययन गरेपछि मात्र संरचना संरक्षणको योजना तय हुनेछ।’
उत्खननकार्य समय अभाव र प्राविधिक कारणले अधुरो भएको र आउँदो वर्ष निरन्तरता दिने योजना रहेको अधिकारीको भनाइ छ। हाल उत्खनन गरिएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माटोले ढाकिएको छ। विभागले स्थानीयलाई थप उत्खनन वा निर्माण नगर्न आग्रह गरेको छ।
एक पुरातत्वविद्का अनुसार यो राष्ट्रको आधारशीला नै हिन्दुत्वसँग जोडिएको छ । ‘हामीले जहाँ खने पनि देवभूमी भएको प्रमाण फेला पर्छ,’उनले भने । ती विद्का अनुसार इतिहासको विभिन्न कालखण्डमा धार्मिक सहिष्णुता र उदारताका कारणले नेपाल सरकार, स्थानीय र समाजले मस्जिद, मदरसा, गिर्जाघर एवं गुरुद्वारे लगायतका लागि जग्गा उपलब्ध गराए पनि ती सबै थलोको जगमा हिन्दु देवीदेवताकै अस्तित्व छ ।
# मन्दिर#को #भग्नावशेष