विराटनगर– काभ्रेको धुलिखेलमा विद्युत पोलमा करेन्ट लागेर ज्यान गुमाएका सर्लाही ईश्वरपुर–१२ का २८ वर्षीय उपेश नेपाली (परियार)का परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मृतककी श्रीमती रस्मिला परियार, सुदीप निर्माण सेवा प्रालिका प्रोप्राइटर दीपक प्रसाद धिताल र नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रबीच लिखित सहमति भएको हो।
सहमति अनुसार सात दिनभित्र रस्मिला र संयोजक केशव दमाईको संयुक्त खातामा १० लाख रुपैयाँ जम्मा गरिनेछ। साथै विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावलीअनुसार थप ५ देखि १० लाख रुपैयाँसम्म उपलब्ध गराउनेछ।
श्रीमती रस्मिलालाई योग्यता अनुसार विद्युत प्राधिकरणको कार्यालयमार्फत घर पायक रोजगारी दिने सहमति पनि भएको छ। सहमति पत्रमा प्राधिकरणका प्रमुख अमृतबाबु अधिकारी, धिताल र रस्मिलाले हस्ताक्षर गरेका छन्। शनिबार बिहान धुलिखेल–७ संजीवनी चोकमा कार्यरत उपेशको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो।
#उपेश# नेपाली