विराटनगर — भारत हुँदै मध्यपूर्वका नौ देशतर्फ यात्रा गर्न लागेका नेपाली नागरिकले नेपाली दूतावासबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिनुपर्ने भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै एनओसी बिना यात्रा नगर्न आग्रह गरेको हो।
दूतावासका अनुसार साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनानजस्ता मुलुकमा जाने नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएपछि मात्र दूतावासबाट एनओसी प्राप्त गर्न सक्नेछन्।
नेपाल सरकारले भारत हुँदै खाडी मुलुकतर्फ गरिने यात्रामा कडाइ गरेपछि दूतावासले यस्तो सूचना जारी गरेको हो। वैदेशिक रोजगारीमा पठाउने केही दलालले नक्कली श्रम स्वीकृति र नक्कली एनओसीको प्रयोग गरी भारतीय विमानस्थलमार्फत नेपालीहरूलाई पठाउने गरेको उजुरीहरू बढेपछि सावधानी अपनाइएको दूतावासले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नक्कली कागजात प्रयोग गर्ने प्रयास गर्ने व्यक्तिहरूलाई भारतीय अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिइ प्रहरी हिरासतमा पठाउने घटनाहरू बढिरहेका छन् भन्ने सूचनाले दूतावासको ध्यानाकर्षण भएको छ।’दूतावासले भारत हुँदै मध्यपूर्व यात्रा गर्न चाहने सबै नेपाली नागरिकलाई वैधानिक प्रक्रिया पूरा गरी मात्र यात्रा गर्न अनुरोध गरेको छ।
#एनओसी