विराटनगर– वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहमा संलग्न पाँच जना काठमाडौँबाट पक्राउ परेका छन्। ती व्यक्तिहरूले जापान, अजरबैजान, थाइल्याण्ड र दक्षिण कोरिया जस्ता देशहरूमा पठाइदिने प्रलोभन देखाइ पीडितहरूबाट लाखौँ रुपैयाँ असुलेको आरोप छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका–४ बस्ने तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय विकास गुरुङ, काठमाडौँ–३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१२ की ३६ वर्षीया रञ्जना अधिकारी, काठमाडौँ–३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका–१ का ४० वर्षीय यादव प्रसाद घिमिरे, काठमाडौँ–२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–३ का ५२ वर्षीय लोकजन खड्का र पेप्सीकोला बस्ने सुनसरी इनरुवा–७ का ३२ वर्षीय रमेश कुमार यादव छन्।
विकास गुरुङले अजरबैजान पठाइदिने भन्दै २ जनाबाट ५ लाख रुपैयाँ, रञ्जना अधिकारीले जापान पठाइदिने भन्दै १ जनाबाट ३ लाख रुपैयाँ, यादव घिमिरेले जापान पठाइदिने भन्दै ५० हजार रुपैयाँ र लोकजन खड्काले थाइल्याण्ड पठाइदिने भन्दै ४ लाख ४० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरी सक्रिय भएको थियो।
त्यस्तै रमेश कुमार यादवले दक्षिण कोरिया पठाइदिने भन्दै ३ जना पीडितबाट कुल २६ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा काठमाडौँको पेप्सीकोलाबाट पक्राउ परेका हुन्।
संबन्धित उजुरीका आधारमा खटिएको प्रहरीले जेठ ७ र ८ मा काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
#वैदेशिक# रोजगारी#मा #पठाइ#दिन्छु #भन्दै #ठगी