विराटनगर– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ।

विभागका अनुसार बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र र दक्षिण–पश्चिमका अधिकांश भागमा मनसुन प्रवेश गरिसकेको छ। यससँगै माल्दिभ्स, श्रीलंका लगायतका क्षेत्रहरूमा समेत मनसुनको सक्रियता देखिएको छ। बंगालको खाडीबाट मनसुन क्रमशः जमिनतर्फ सरिरहेको जानकारी दिइएको छ।

आज आइतबार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने अन्य भागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोसी र वाग्मती प्रदेशलगायत पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बाँकी एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, देशका उच्च–पहाडी तथा हिमाली भेकका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि कोसी र मधेस प्रदेशलगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहने विभागको भनाइ छ। राति कोसी र मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, कोसी र वाग्मती प्रदेशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

#बंगाल#को #खाडी