विराटनगर – हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्व राख्ने रामनवमी पर्व आइतबार नेपालभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । भगवान विष्णुको सातौं अवतारका रूपमा पूजनीय भगवान रामको जन्मजयन्तीको रूपमा यो पर्वको स्वागत गरिन्छ ।
नेपाल सरकारको चैत ४ मा बसेको मन्त्रिपरिषद् बैठकले रामनवमीको अवसरमा चैत २४ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ ।
रामनवमीमा भक्तजनहरू राम मन्दिरहरूमा पूजाआजा गर्न भेला हुन्छन् । काठमाडौं उपत्यकामा बत्तीसपुतलीस्थित राम मन्दिर, भक्तपुरको चाँगुनारायण मन्दिर, बुढानीलकण्ठ मन्दिर, इचंगुनारायण र बिचंगुनारायण मन्दिरहरूमा भक्तहरूको भीड लाग्ने गर्छ । विशेष गरी, जनकपुरस्थित जानकी मन्दिरमा हजारौं भक्तजनहरूको उपस्थितिले मेलाको माहोल हुन्छ ।
यस पावन अवसरमा भक्तजनहरूले रामायण पाठ, भजन–कीर्तन, व्रत तथा उपवास जस्ता धार्मिक क्रियाकलापहरूमा संलग्न हुन्छन् । राम मन्दिरहरूमा विशेष पूजापाठ हुन्छ । झाँकीहरू निकालिन्छन् । झाँकीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरू सजाइन्छन् ।
भगवान रामलाई ’मर्यादा पुरुषोत्तम’ मानिन्छ । उनले धर्म, सत्य र न्यायको मार्गमा हिँडन प्रेरणा दिन्छन् । उनको जीवनचरित्रले पारिवारिक, सामाजिक तथा नैतिक मूल्यहरूको पालन गर्न सिकाउँछ ।
रामनवमी पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिन्छ, जसलाई भगवान रामले रावणमाथि विजय प्राप्त गरेर प्रमाणित गरेका थिए । यसरी रामनवमी नेपालभरि भक्तिभाव, उल्लास र धार्मिक उत्साहका साथ मनाइँदैछ । यसले नेपाली समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्छ ।