विराटनगर — विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नेपाल प्रहरीको गौरव बढाएका सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पा नायव निरीक्षक (सई) पदमा विशेष बढुवा पाउँदा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएकी छन्।
प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक (आईजीपी) दीपक थापाको अध्यक्षतामा जेठ ६ मा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले शेर्पालाई विशेष बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार उनलाई सहायक निरीक्षक, असईबाट नायव निरीक्षक, सईमा बढुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक थापाले शेर्पालाई दर्ज्यानी चिन्ह लगाइ सम्मान गरेका हुन्।
समारोहमा बोल्दै आईजीपी थापाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै संगठनको प्रतिष्ठा बढाएकोप्रति शेर्पाको प्रशंसा गरे। उनले भने, ‘पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जान्छ, आगामी दिनमा अझ उत्साह र समर्पणका साथ कार्यसम्पादन होस् भन्ने अपेक्षा छ।’
प्रहरी नायव निरीक्षक शेर्पाले २०८२ साल जेठ ५ मा सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको शिखरमा ‘नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हौं’ भन्ने सन्देशसहितको ब्यानर फहराएकी थिइन् ।
सगरमाथा विजयका साथसाथै सामाजिक सन्देश प्रवाह गर्दै संगठनको पहिचान बलियो बनाउने शेर्पाको योगदानलाई नेपाल प्रहरीले विशेष सम्मानका साथ मूल्यांकन गरेको छ।
#सगरमाथा#कुन्जाङ #छोपेल #शेर्पा