काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक घरमा ५० वर्षीया महिला रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छन्।
शाही लक्ष्मीश्वर महतोको तीन तले घरमा डेरा गरी बस्दै आएकी थिइन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज नेउपानेका अनुसार दिउँसोसम्म पनि शाहीले कोठा नखोलेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए।
जनप्रतिनिधिको रोहबरमा कोठा फोडेर हेर्दा उनी सुत्ने कोठाको भुइँमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाका बेला उनका श्रीमान उपत्यका बाहिर थिए । उनी केही दिनदेखि कोठामा एक्लै बसेकी थिइन्।
प्रहरीका अनुसार शाही भित्रैबाट चुकुल लगाएर सुतेकी थिइन्। उनको शरीरमा कुनै चोटपटक देखिएको छैन। घटनास्थलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कसैका कारण आत्महत्या गरेँ भन्ने खालको सुसाइड नोट छैन । तर जीवनदेखि हार खाएँ, छोराछोरीका लागि केही गर्न सकिनँ भन्ने लेखिएको छ । नोटबारे थप अनुसन्धान भइरहेको डीएसपी नेउपानेले बताएका छन् ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। शाहीले ६ वर्षअघि तत्कालीन सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त मुद्दाले त्यसबेला व्यापक सार्वजनिक चासो पाएको थियो।