काठमाडौँ — तीनकुनेमा गत चैत १५ मा राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा भएको झडप र तोडफोडसँग सम्बन्धित घटनामा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

सरकारी वकिल कार्यालयले मिश्र र जबराविरुद्ध राजद्रोहको अभियोगमा मुद्दा चलाएको छ भने प्रसाईँविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। कर्तव्य ज्यान अभियोगमा प्रसाईँसहित ८ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। तीमध्ये ४ जना नाबालक छन्। उनीहरूविरुद्ध भने सोमबार बाल अदालतमा मुद्दा दर्ता गरिने जनाइएको छ।

यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौँले १०८ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो। उक्त रायका आधारमा सरकारी वकिल कार्यालयले आइतबार ५० जनाविरुद्ध मात्रै मुद्दा दायर गरेको हो।

यस्तै सोही आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरमा भएको तोडफोडमा संलग्न ११ जनाविरुद्ध अपराधिक उपद्रवको कसुरमा छुट्टै मुद्दा दर्ता गरिएको छ।

उक्त मुद्दा भाटभटेनीका प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा कार्यालय सचिव र अन्नपूर्ण पोस्टलगायतबाट परेको जाहेरीका आधारमा दायर गरिएको हो।

अपराधिक उपद्रवको मुद्दामा संलग्न ठहर गरिएकाहरूमा २९ वर्षीय श्रवणकुमार लामा, २१ वर्षीय समिर मगर, २० वर्षीय रविरञ्जन कुमार सिंह, लक्ष्मी भनेर बोलाइने ४० वर्षीया एलिसा राई , २० वर्षीय आशिककुमार महतो, १९ वर्षीय गोविन्द राय, ४४ वर्षीय सुशिला कुमाल, ३९ वर्षीय निर्मला कार्की, २४ वर्षीय प्रेमकुमार महतो, १९ वर्षीय राधेश्याम यादव र २० वर्षीय दिनेश महतो छन्।सरकारी वकिल कार्यालयका अनुसार दर्ता गरिएका मुद्दाहरू हाल अनुसन्धानको प्रक्रियामा छन्।

# तीनकुने#झडप