दन्तकथाबाट सामाजिक संस्कारसम्म, महिलाको आस्था र आत्मबलको प्रतीक पर्व

विराटनगर– हिन्दू धर्मावलम्बी विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुखमय जीवनको कामना गर्दै आज देशभर श्रद्धापूर्वक बटसावित्री पर्व मनाइरहेका छन्। विशेषगरी बरको रूखमुनि विधिपूर्वक पूजा गरेर सावित्री–सत्यवानको कथाको स्मरण गरिने यो पर्वले आत्मसमर्पण, निष्ठा र सांस्कृतिक आस्थालाई उजागर गर्छ।

विराटनगर महानगरदेखि देशभरका ग्रामीण क्षेत्रसम्म बिहानैदेखि विवाहित महिलाहरू नुहाएर नयाँ पहिरनमा सिँगारी बरको रूखमुनि भेला भइरहेका छन्। उनीहरूले बाँसको डालोमा सात प्रकारका फलफूल (जस्तै आँप, लिची, अंगुर, स्याउ, केरा), लड्डु, पान, सुपारी, सिन्दुर, पिठार, रोली धागो, बाँसको पंखा आदिलाई रातो कपडाले छोपेर पूजा अर्पण गरेका छन्। पूजापछि महिलाहरूले सावित्री सत्यवानको कथा सुन्ने परम्परा रहेको छ।

विराटनगरको गीता मन्दिरभित्रको बरको रुख मुनि भेटिएकी गंगा यादवले भनिन्, ‘बरको रूखलाई श्रीमानसरह सम्झेर पूजा गरिन्छ। पूजा गरेपछि घर फर्केर पतिको पनि पूजा गरेर प्रसाद दिइन्छ। पति घरमा नभए त्यही प्रसाद पोखरी वा तलाउमा विसर्जन गरिन्छ।’

पौराणिक विश्वास अनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानको प्राण यमराजबाट फिर्ता ल्याउन तपस्या गरेकी थिइन्, जसको सफलतास्वरूप आजसम्म सावित्रीको श्रद्धा र आत्मबलको प्रतीकस्वरूप यो पर्व मनाउने परम्परा कायम छ। ब्रतालुहरूका अनुसार यो पर्व जेठ कृष्ण औँसीका दिन मनाइन्छ, जसको पूर्वसन्ध्यामा (कृष्ण चतुर्दशीमा) महिलाहरू स्नान गरी शुद्ध शाकाहारी भोजन गरेर ब्रत थालनी गर्छन्।

अग्रज महिलाहरू भन्छन्, ‘बटसावित्री केवल एक धार्मिक अनुष्ठान होइन, यो विवाहित महिलाको आस्था, प्रेम र आत्मबलको गहिरो अभिव्यक्ति हो। विधवा जीवनको पीडाबाट जोगिन पतिको दीर्घायुको कामनासहित मनाइने यो पर्व आजपनि उतिकै प्रासंगिक छ।’

गूगल र धार्मिक ग्रन्थअनुसार यो पर्व भारतको विभिन्न राज्यहरू उत्तर प्रदेश, बिहार, झारखण्ड, उडिसा, पश्चिम बंगाल र नेपालमा विशेष महत्वका साथ मनाइन्छ। बरको रूखलाई जीवनदायिनी शक्तिको प्रतीक मानिँदै आएको छ।

#बटसावित्री