विराटनगर– सिराहा र सप्तरीका दुई शिक्षक, जो पहाडी क्षेत्रको एक विद्यालयमा शिक्षाको ज्योति फैलाउन गएका थिए, अब कहिल्यै आफ्नो घर फर्किने छैनन्।
मकवानपुरको थाहा नगरपालिका–१, ओखरगाउँस्थित झम्केश्वरी माध्यमिक विद्यालयका नेपाली र विज्ञान शिक्षक — लोकेन्द्रकुमार ठाकुर र रघुनन्दन यादव सोमबार बेलुकी एउटा अनियन्त्रित बसको ठक्करबाट मारिए। दिनभरि कक्षा कोठामा बालबालिकालाई पढाइसकेपछि ‘इभिनिङ वाक’मा निस्किएका उनीहरू अब शब्द र विज्ञान पढाउने कुनै कक्षामा पुग्ने छैनन्।
लोकेन्द्र ठाकुर सप्तरी, विष्णुपुर–५ का थिए। ग्रामीण पृष्ठभूमिबाट शिक्षाको उज्यालो खोज्दै अघि बढेका उनी झम्केश्वरी माविमा नेपाली भाषा पढाउँथे। उनलाई विद्यार्थीहरू ‘शान्त, अनुशासित र गम्भीर’ गुरुका रूपमा सम्झन्छन्।
रघुनन्दन यादव सिराहाको औराही नगरपालिकाका थिए। उनले विज्ञानलाई सहज भाषामा बुझाउने शैली विकास गरेका थिए। सहकर्मीहरू भन्छन्, ‘उनले जटिल रसायनलाई पनि बालबालिकाको भाषामा बुझाउँथे। उनमा निरन्तर केही नयाँ दिन सक्ने जोश थियो।’
तराई–मधेसका यी दुई शिक्षकले आफ्नो कर्मभूमि पहाड छाने — जहाँ सडक दुर्गम छ, जीवन सरल छ, तर ज्ञानको तिर्खा गहिरो छ। उनीहरू त्यही तिर्खा मेटाउँदै थिए, जब थाहा नगरपालिका–३ मा शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको खाली बसले ब्रेक फेल भएर उनीहरूलाई ठक्कर दियो।
घटनास्थलमै ठाकुरको ज्यान गयो। यादवलाई तत्काल काठमाडौँ ल्याइए पनि ट्रमा सेन्टरमा उपचारकै क्रममा ज्यान गयो।उनीहरूसँगै हिँडिरहेका बारा, जितपुर सिमराका गणित शिक्षक छेयाङ दोर्जे लामा र कोल्बिका रामगुलाम चौधरी घाइते छन्। उनीहरूको पालुङमा उपचार भइरहेको छ।
शिक्षकहरू मात्र होइन, त्यो साँझ थाहा नगरपालिका–९ चित्लाङका ४० वर्षीय लेखापढी व्यवसायी कृष्ण बलामीको पनि मृत्यु भयो। मालपोत कार्यालयका अर्का कर्मचारी कमलेशकुमार साह घाइते छन्।
थाहा नगर उप–मेयर भरत गोपालीको घरभित्र छिरेको उक्त बसका चालक राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।झम्केश्वरी माविमा अहिले शोकको बादल मडारिएको छ। प्रधानाध्यापक गणेशमान श्रेष्ठ भन्छन्, ‘उनीहरू शिक्षक मात्रै होइनन्, विद्यालयका प्रेरणा थिए। दुई जोवन उजाडियो, हामीले हाम्रो परिवारको हिस्सा गुमायौं।’
विद्यालयमा हाल १८ शिक्षक कार्यरत छन्, २५५ विद्यार्थी अध्ययनरत छन्। मंगलबार थाहा नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन रोकिएको छ।तराईबाट पहाड चढेर ज्ञान बाँड्न गएका यी दुई शिक्षक अब फर्किंदैनन्। उनीहरूका शून्य कक्षामा अब विद्यार्थीले कुर्सी हेरेर आँसु झार्नेछन्।
#लोकेन्द्रकुमार# ठाकुर#रघुनन्दन# यादव