विराटनगर— ‘एभरेष्ट म्यान’ को उपाधि पाएका विश्वविख्यात नेपाली आरोही कामीरिता शेर्पाले फेरि इतिहास रचेका छन्। ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा ३१ औँ पटक पाइला राख्दै विश्व कीर्तिमानको नयाँ उँचाइ छोएका हुन्।
सोलुखुम्बुको थामे गाउँ निवासी कामीरिता सेभेन समिट ट्रेक्समार्फत २२ जना भारतीय सैनिकको टोलीलाई नेतृत्व गर्दै सगरमाथा आरोहणमा गएका थिए। कम्पनीका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘एभरेष्ट म्यान’ले फेरि गर्यो चमत्कार ! ३१ औँ पटक सगरमाथा आरोहण। इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमानी कामीरितालाई बधाई।
कामीरिता बुधबार बिहानसम्म ५ हजार २ सय मिटर उचाइमा रहेको आधार शिविर फर्किने र त्यहाँबाट हेलिकोप्टरमार्फत काठमाडौँ फर्किने तालिका रहेको बताइएको छ।
दुई सन्तान र पत्नीका साथ काठमाडौँमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए। उनले पहिलो पटक २४ वर्षको उमेरमा, २०५१ मा सगरमाथा आरोहण गरेका थिए।
त्यसयता उनले सगरमाथासहित केटू, मनास्लु, ल्होत्सेजस्ता ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ४५ पटक आरोहण गरिसकेका छन्। उनी एकै सिजनमा पाँच पटकसम्म सगरमाथा चढ्ने दुर्लभ क्षमता राख्ने आरोही हुन्।
कामीरितापछि सबैभन्दा धेरै सगरमाथा चढ्ने आरोही खुम्बु पाङबोचेका पासाङ दावा शेर्पा हुन्, जसले हालसम्म २७ पटक सगरमाथा आरोहण गरिसकेका छन्।
#कामीरिता# शेर्पा