काठमाडौँ– विदेश पठाइदिन्छु भन्दै आकर्षक तलबको लोभ देखाइ नेपाली नागरिकहरूलाई ठगी गर्ने गिरोहमा संलग्न ६ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा नगरपालिका–५ बस्ने सल्यान कपुरकोट गाउँपालिका–५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौँ–६ बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका–५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा, गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–२ घर भएका ४० वर्षीय शिवराम घिमिरे, काठमाडौँ–१५ बस्ने मकवानपुर थाहा नगरपालिका–७ घर भएका ३४ वर्षीय रामकुमार सापकोटा, काठमाडौँ–३ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका–३ घर भएका २८ वर्षीय ओव्जन चदारा, र भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन्।

५६ लाखभन्दा बढी ठगी

टोपेन्द्र राना मगरले जापान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४२ लाख ३० हजार रुपैयाँ ठगेको उजुरी परेको छ।

ङिमा शेर्पाले पोल्याण्ड पठाउने भन्दै २ जना पीडितबाट ४ लाख २० हजार रुपैयाँ असुलेका छन्।

शिवराम घिमिरेले न्यूजिल्याण्ड लैजाने बहानामा १ जनाबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

तीनै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा–५, काठमाडौँ–४, र काठमाडौँ–३१ बाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

'सीआईडी' को नक्कली परिचय दिँदै थप ठगी

पक्राउ पर्ने अन्य दुई अभियुक्त — रामकुमार सापकोटा र ओव्जन चदारा —ले आफूहरू 'सीआईडी' मा कार्यरत प्रहरी निरीक्षक र सहायक निरीक्षक भएको बताउँदै, वैदेशिक रोजगारीका नाममा ठगिएको रकम उठाइदिने भन्दै ४ लाख ५० हजार रुपैयाँ नगद र ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक लिएको उजुरी परेको छ।

उनीहरूलाई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कीर्तिपुर नगरपालिका–१०, ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।

‘सीआईबीको डिएसपी हुँ’ भन्दै बलात्कार मुद्दा मिलाइदिने प्रलोभन

अनिल थापाले आफू केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को डिएसपी हुँ भनी बोलाएर जबरजस्ती करणीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ। उनलाई सीआईबी टोलीले मध्यपुर थिमी–५, कमेरोटारबाट पक्राउ गरेको हो।

उनको विरुद्ध ठगीसम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१२ वर्षीया बालिकामाथि बलात्कार गर्ने ६२ वर्षीय वृद्ध पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–२, सन्नुवामा बस्ने ६२ वर्षीय नागेश्वर विकलाई १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनले ती बालिकालाई फकाएर जबरजस्ती करणी गरेको उजुरी परेपछि बसपार्कस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

# विदेश# ठगी#बलात्कार