विराटनगर– काठमाडौँस्थित नारायणहिटी दरबार परिसरभित्र रहेको ऐतिहासिक चतुर्व्यूह नारायण मन्दिरमा २४ वर्षपछि पूर्वराजपरिवारले गत शनिबार साँझ पूजा–अर्चना गरेका थिए । ठिक पाँच दिनपछि नारायणहिटी संग्रहालय प्रशासनले पुनः मन्दिरतर्फको प्रवेशद्वारमा ताल्चा लगाएको छ।
गत जेठ १० मा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, छोरी प्रेरणा शाह र नाति हृदयेन्द्र शाहले सामूहिक रूपमा मन्दिरमा पूजाअर्चना गरेका थिए। उनीहरूले नारायण मन्दिरसहित दुर्गा भवानी, सरस्वती, महादेव, हनुमान, राम–सीता, गरुडलगायत सबै देवताका मन्दिरहरूमा प्रदक्षिणा (फेरामाराइ) गरी विधिपूर्वक दर्शन गरेका थिए।
यो मन्दिर नारायणहिटी दरबारसँगै जोडिएको छ । पूर्वराजपरिवारका सदस्यहरूले पूजा गर्ने पवित्र स्थलको रूपमा चिनिन्छ। यही मन्दिरको नामबाट दरबारको नाम ‘नारायणहिटी’ रहन गएको हो। तर २०६५ सालमा गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यहरूले यस मन्दिरमा गरिँदै आएको पूजाअर्चना बन्द भएको थियो।
राजदरबार हत्याकाण्डपछि मन्दिर आवत–जावत हुने ढोकामा ताल्चा लगाइएको थियो। तर जेठ १० मा पूजाका लागि संग्रहालय प्रशासनकै सहमतिमा उक्त ढोका खोलेर प्रवेश गराइएको थियो।
पूर्वनवयुवराज हृदयेन्द्र शाह केही दिनअघि अमेरिका बोस्टनबाट विदामा नेपाल फर्किएका हुन्। उनले अध्ययनकै सिलसिलामा अमेरिका बस्दै आएका छन्। नातिलाई लिएर पूजाका लागि मन्दिर पुगेको पूर्वराजपरिवारलाई देखेर नागरिक समाजका केही व्यक्तिहरू त्यहाँ उपस्थित भएका थिए। तस्बिरहरू सामाजिक सञ्जालमा भाइरलसमेत भएका छन्।
तर पूजापछि पाँच दिनमै नारायणहिटी संग्रहालयका प्रतिनिधि पुगेका थिए । उनीहरूले मन्दिरतर्फको प्रवेशद्वार फेरि ताल्चा लगाएर चाबी लगेका छन्। स्रोतका अनुसार उक्त प्रतिनिधिले ढोका खोलिएकोमा असन्तुष्टि जनाउँदै ताल्चा लगाएका हुन्।
गणतन्त्र स्थापनापछि पनि मन्दिरमा बिहानको नित्य पूजा र साँझको आरती भने निरन्तर भइरहन्छ। सर्वसाधारणका लागि मन्दिर खुला रहने गरेको मन्दिर व्यवस्थापन स्रोतले जनाएको छ।
२४ वर्षपछि पूर्वराजपरिवारले चतुर्व्यूह नारायण मन्दिरमा पूजाअर्चना गरेपछि मन्दिरको प्रवेशद्वारमा पुनः ताल्चा लाग्नु र त्यसको पाँच दिनमै राजसंस्थाको समर्थनमा हुने भनिएको प्रदर्शनलाई निषेधित क्षेत्र घोषणा गरिनु, दुवै घटनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको डरको संकेतका रूपमा व्याख्या गरेको छ।
शनिबार काठमाडौँमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आफ्नो आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।‘हामीले सुरु गरेको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनको प्रभावका कारण सरकारले नै डराएर निषेधाज्ञा जारी गरेको छ,’ उनले भने, ‘यसले हामीलाई अझ उत्साहित बनाएको छ।’
राप्रपाले आन्दोलनलाई थप सशक्त बनाउन ‘संयुक्त जनआन्दोलन परिचालन समिति’को निर्देशनअनुसार देशव्यापी परिचालन हुने निर्णय पनि गरेको छ। अध्यक्ष लिङ्देनले राज्यका अवरोधका बाबजुद पनि आन्दोलन नरोकिने दाबी गर्दै भने, ‘जेठ १५, हाम्रो शक्ति र गणतन्त्र पक्षधरहरूको शक्ति मापन गरिएको ऐतिहासिक दिन बनेको छ ।’
राप्रपाको आन्दोलन दरबारमार्गस्थित राजा महेन्द्रको शालिक नजिक प्रदर्शन गर्ने घोषणापछि सरकारले नारायणहिटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सुरक्षा सतर्कता बढाइएको छ। यी सब घटनाले राजसंस्था र गणतन्त्र पक्षधरबीचको मनोवैज्ञानिक रस्साकस्सीलाई थप उचाइमा पुर्याएको विश्लेषण भइरहेका छन्।
#नारायणहिटी #दरबार