विराटनगर — नेपाली खेल इतिहासमा एक गौरवपूर्ण अध्याय थप्दै करातेकी एरिका गुरुङले विश्वकै प्रतिष्ठित प्रतियोगिता कराते–१ प्रिमियर लिग मा ऐतिहासिक कास्य पदक जितेकी छन्।

विश्वभरका उत्कृष्ट कराते खेलाडीहरूको सपना मानिने यो प्रतियोगितामा सहभागी हुन पाउनु नै गौरवको विषय मानिन्छ। उक्त प्रतियोगितामा विश्वभरबाट मात्र ३२ खेलाडी छनोट गरिन्छ, जसमा एरिका समावेश हुँदै मोरक्कोको राजधानी रबातमा पुगेकी थिइन्।

आइतबार राति सम्पन्न महिला ६८ केजीमाथिको तौल समूहअन्तर्गत कास्य पदकको खेलमा उनले फ्रान्सकी पिए क्लेमेन्सलाई ६–२ को स्पष्ट अन्तरले पराजित गर्दै नेपालको नाममा इतिहासकै पहिलो पदक दर्ता गराउन सफल भइन्।

प्रतियोगितामा भाग लिने पहिलो नेपाली खेलाडीसमेत बनेकी एरिकाले आफ्नो पहिलो सहभागितामै पदक जितेकी हुन्। विश्व कराते वरीयताको ५० औं स्थानमा रहेकी एरिकाले २० औं वरीयताकी क्लेमेन्सलाई हराउँदै विश्वस्तरीय उत्कृष्टता प्रमाणित गरेकी हुन्।

विश्व कराते महासंघले लगातार राम्रो प्रदर्शन गरिरहेकी एरिकालाई प्रतियोगिताका लागि विशेष छनोट गरेको थियो। प्रतियोगिताको सुरुआती चरणमा उनले पुल–६ अन्तर्गत टर्कीकी जेना गाबालासँग २–२ को बराबरी खेलिन् भने इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले पराजित गरिन्। साइप्रसकी जिआमुकी ठेओदोसियासँगको खेल १–१ को बराबरीमा सकिएको थियो।

लगत्तै भएको नकआउट चरणमा उनले इजिप्टकी हैदी महघुबलाई ८–२ को फराकिलो अन्तरले हराइन्। सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५–५ को खेलमा रेफ्री निर्णयअनुसार पछि परेकी एरिका तेस्रो स्थानका लागि पुनः भिडिन् र फ्रान्सकी क्लेमेन्सलाई पराजित गर्दै कास्य हात पारिन्।

सेमिफाइनलमा एरिकालाई हराएकी स्पेनकी मारिया टोरेसले नै फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४–२ ले हराएर स्वर्ण पदक जितिन्।एरिकाको यो सफलता नेपाली कराते इतिहासका लागि मात्र नभइ सम्पूर्ण खेलकुद क्षेत्रका लागि प्रेरणादायी उपलब्धि बनेको छ।
 

#एरिका #गुरुङ