विराटनगर– आफूलाई षड्यन्त्रपूर्वक थुनामा पठाइएको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा सोमबार रिट निवेदन दायर गरेका छन्।
चौधरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ अनुसार वेरीत तथा त्रुटिपूर्ण आदेश बदर गर्न माग गर्दै प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न अनुरोध गरेका छन्।
गत वैशाख १७ मा जनमत पार्टी (सीके राउत) र नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रञ्जिता श्रेष्ठ) बीचको एकीकरण कार्यक्रममा सहभागी हुन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको थियो।
चौधरीका अनुसार शाखा अधिकृत विष्टले अदालतको पत्र किर्ते गरी प्रहरीलाई पठाएर आफूलाई मनोमानी ढंगले पक्राउ गराएका थिए। उक्त पत्र किर्ते रहेको पुष्टि भएपछि चौधरी पाँच घण्टापछि रिहा भएका थिए भने विष्ट प्रहरी हिरासतमा पुगेका थिए। विष्टलाई जेठ ५ मा एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।
चौधरीले दायर गरेको निवेदनमा भनिएको छ, ‘विष्टले अदालतको अधिकार क्षेत्रभन्दा बाहिर गइ अन्य पदाधिकारीको जिम्मेवारी मनोमानी रूपमा ग्रहण गर्दै अदालतको लेटरहेड, छाप र पदको दुरुपयोग गरेका छन्। उक्त कार्य मुलुकी फौजदारी संहिता, २०७४ को दफा २७६ अनुसार अपराध सरह भएको भन्दै चौधरीले उनलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले आफ्नो पक्राउ पूर्वनियोजित षड्यन्त्रका आधारमा भएको भन्दै यसले पुर्याएको मानसिक, सामाजिक तथा राजनीतिक क्षतिको उचित मूल्यांकन गर्न र प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश माग गरेका छन्।
#रेशम#महिमानसिंह