विराटनगर— सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी १८ वर्षीया दलित किशोरी पूजाकुमारी रामको शंकास्पद मृत्यु प्रकरणमा सप्तरी जिल्ला अदालत अन्तर्गतको बार एसोसिएशनको मानव अधिकार तथा जनसरोकार समिति सक्रिय भएको छ। समितिका संयोजक अधिवक्ता दिलिप चौधरीसहितको टोली शनिबार पीडित परिवारको घर पुगेर विवरण संकलन गरेको छ ।

अधिवक्ता चौधरीले घटनाको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न र पीडित परिवारलाई न्याय दिलाउन समिति गम्भीर रहेको बताएका छन् । ‘स्थलगत सबै पक्ष बुझेर प्रतिवेदन तयार पार्नेछौं र त्यसलाई प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराउनेछौं,’ चौधरीले भने, ‘पीडित परिवारलाई न्याय दिलाउने हाम्रो प्रयास हुनेछ ।”

रातारात बेपत्ता, बिहानै शव भेटियो
सोमबार राति भाइ विश्वजीतसँग सुतिरहेकी पूजाकुमारी मंगलबार बिहान घरबाट एक किलोमिटर दक्षिण–पूर्वको तीनगछियाँ भन्ने स्थानमा मृत अवस्थामा भेटिएकी थिइन् । झाडीभित्र शव भेटिएको र घटनास्थलमा आंशिक संघर्षको संकेत देखिएको स्थानीयले बताएका छन् ।

मंगलबार बिहानैदेखि बेपत्ता रहेकी पूजाकुमारीको शव भेटिएपछि आमाले छोरीको हत्या भएको दाबी गर्दै बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराएकी हुन् । जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पुरानो मुद्दासँग सम्बन्ध, फरार आरोपी पक्राउ
सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनका अनुसार मृतक पूजाकुमारीसँग तीन वर्षअघि बलात्कार प्रयासको घटना भएको थियो । सोही मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका ठाकुर थरका युवक हाल पक्राउ परेका छन् ।

‘अहिलेसम्म १५ जनाभन्दा बढी व्यक्तिसँग सोधपुछ भइसकेको छ,’ उनले भने,‘ शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको हो । तर मृत्युको कारण यकिन गर्न भिसेरा परीक्षणका लागि नमुना पठाइएको छ । रिपोर्ट आएपछि स्थिति अझ स्पष्ट हुनेछ ।’

प्रहरीप्रतिको अविश्वास र न्यायका लागि दबाब
स्थानीयवासी तथा मानव अधिकारकर्मीहरूका अनुसार मृतक पूजाकुमारीको परिवार विगत केही समयदेखि सामाजिक विभेदले प्रताडित थिए ।  सुरक्षाको अभावमा मानसिक तनावमा थिए । स्थानीयका अनुसार पूजाकुमारीमाथिको पुरानो मुद्दाका कारण उनीहरुलाई पुनः दबाब र धम्की दिइएको आशंका छ ।

नेपालमा दलित समुदायमाथि हिंसा र लैंगिक अपराधका घटनाहरू बारम्बार हुने गरेको देखिन्छ । राष्ट्रिय दलित आयोगको अनुसार दलित महिलामाथि हुने हिंसाका धेरै घटनाहरू उजुरीसम्म पुग्दैनन् र उजुरी पुगेका घटनामा पनि अनुसन्धान ढिलाइ हुने र अपराधी उन्मुक्ति पाउने जस्ता समस्या कायमै छन् ।

पूजाकुमारी रामको मृत्यु घटनाले दलित समुदायमाथिको निरन्तर विभेद, न्याय प्रणालीमा पहुँचको अभाव र यस्ता घटनामा राज्य संयन्त्रको ढिलासुस्तीप्रतिको प्रश्न उठाएको छ । यदि घटनामा विगतको बलात्कार मुद्दासँग सम्बन्ध देखियो भने यसले फेरि एकपटक पीडितलाई राज्यबाट सुरक्षाको प्रत्याभूति नदिएको पुष्टि हुनेछ । दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिलाउन मानव अधिकार संस्था, नागरिक समाज र सञ्चार माध्यमको समन्वयमा घटनाको सत्यतथ्य सार्वजनिक गरिनु आवश्यक देखिएको छ ।