विराटनगर— दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यको सम्झनामा सोमबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको छ।
पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाहको विशेष उपस्थितिमा हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा दिवंगत राजपरिवारका सदस्यहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै सयौंको संख्यामा सर्वसाधारण पनि सामेल भएका थिए। उनीहरूले मन्दिर प्रवेश गर्ने क्रममा ‘जय जयकार’ गर्दै स्वागत गरेका थिए।
यसअघि नारायणहिटी दरबार परिसरमा रहेको नारायण मन्दिरमा दीप प्रज्वलनको तयारी गरिएको थियो। तर सुरक्षा कारणले अन्तिम समयमा कार्यक्रम कमलादी सारिएको हो।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, दीपकबहादुर सिंह, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, जगमान गुरुङलगायत राजसंस्था पक्षधर नेताहरूको समेत उपस्थिति थियो। तर पूर्वराजा ज्ञानेन्द्र शाह भने अनुपस्थित रहे।
दीप प्रज्वलन कार्यक्रमका क्रममा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन युवा संगठन वाइसीएलका कार्यकर्ताहरूले गणेश मन्दिरतर्फ ढुंगा प्रहार गरेका छन्। वाइसीएलको कार्यक्रम आजै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा तय गरिएको थियो। त्यहीँबाट नाराबाजी गर्दै उनीहरूले मन्दिर परिसरमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।
वाइसीएल कार्यकर्ताहरूलाई प्रहरीले प्रज्ञा प्रतिष्ठानभित्रै रोक्यो । थप सम्भावित झडप रोक्न सुरक्षाको व्यवस्था कडा पारियो । दरबार हत्याकाण्ड २०५८ जेठ १९ को राति नारायणहिटी दरबारभित्र भएको थियो, जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति लगायतका सदस्यहरू मारिएका थिए। उक्त घटनाको रहस्य अझै पूर्ण रूपमा खुलेको छैन भने हरेक वर्ष यस दिन राजपरिवारका समर्थकहरू स्मृति सभा गर्दै आएका छन्।
#हृदयेन्द्र #शाह