विराटनगर — हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संघर्षरत राजावादी समूह संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको आन्दोलन सम्पन्न भएको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा सरकारले हस्तक्षेप र दमन गरे पनि आन्दोलन उत्साहजनक रूपमा सम्पन्न भएको दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको हप्ता लामो जनआन्दोलन सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रूपमा सम्पन्न भएको छ।’

आज दिउँसो समिति बैठक, दोस्रो चरणको कार्यक्रम तय हुने

पहिलो चरणको आन्दोलनको समीक्षा तथा दोस्रो चरणको कार्यक्रम तय गर्न आज दिउँसो समितिको बैठक बस्दैछ। उक्त बैठकमा समितिमा आवद्ध ४४ वटा राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरू सहभागी हुनेछन्।

पाँच दिन चलेको आन्दोलन : स्थान र घटनाक्रम
जेठ १५ देखि सुरु भएको आन्दोलन पाँच दिनसम्म विभिन्न स्थानमा चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो।पहिलो दिन शान्तिबाटिकामा,दोस्रो दिन माइतीघर मण्डलामा,तेस्रो र चौथो दिन पुनः शान्तिबाटिकाबाट नारायणचौरसम्म,पाँचौँ दिन सिफल चौरमा प्रदर्शन गरिएको थियो।

चौथो दिनको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको थियो। उक्त क्रममा पूर्वमन्त्री तथा राप्रपा नेपाल अध्यक्ष कमल थापा धकेलिँदै घिसारिएका थिए भने राप्रपाका बहालवाला सांसद दीपकबहादुर सिंहलाई समेत पक्राउ गरिएको थियो।

गृहमन्त्री लेखकको चेतावनी : आन्दोलन गर्नेलाई सुरक्षा छैन

सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र उनीहरूलाई व्यक्तिगत सुरक्षा (पीएसओ) दिने स्पष्ट पारे। 

राप्रपाका सांसद बुद्धिमान तामाङले बैठकमा गृहमन्त्रीसँग पीएसओ खोसिएको विषयमा प्रश्न गर्दा मन्त्री लेखकले आन्दोलनका कारण सुरक्षाकर्मी तत्काल आन्दोलनमै खटाइएको जवाफ दिए।‘सुरक्षाकर्मी आन्दोलनमा खटाइनुपर्ने भएकाले पीएसओ फिर्ता गरिएको हो,’ गृहमन्त्रीले भने।

उनले भने, ‘यी घटना नभएमा सुरक्षा पुनःस्थापित गरिन्छ। गणतन्त्र फाल्न मिल्दैन, हुँदैन। संविधानका आधारभूत व्यवस्था उल्ट्याउने प्रयत्नहरू निरर्थक छन्। त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ।’
 

#राजावादी