विराटनगर – सप्तकोसी नदीमा उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको छ। प्रहरीका अनुसार शुक्रबार कोसी ब्यारेजदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ सप्तकोसी नदीमा उनको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार थप अनुसन्धान र पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको बताए। मधेस प्रदेश सशस्त्र प्रहरी बल कार्यालयका अनुसार शव झापाको गौरादह लगेर अन्त्येष्टि गरिएको छ।

राजवंशी सशस्त्र प्रहरी बलमा पौडी, दौड र अनुशासनमा अब्बल मानिन्थे। गत चैत १८ मा सशस्त्र प्रहरी बलको बराह वाहिनी पकलीको स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगितामा उनले दौड, पौडी र अनुशासन तीनटै विधामा प्रथम हुँदै पुरस्कार जितेका थिए।

कोशी प्रदेशका उत्कृष्ट अनुशासित कर्मचारीका रूपमा उनलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले विशेष सम्मानसमेत गरेका थिए। चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट गोताखोर तालिम लिएका राजवंशी अहिले मधेस प्रदेश प्रहरी कार्यालय बर्दिबासमा कार्यरत थिए। 

डेढ महिनाअघि मात्र उनी काज सरुवामा कोशी प्रदेशबाट मधेस प्रदेशमा खटिएका थिए। राजवंशीको असामयिक निधनले सिंगो सशस्त्र प्रहरी संगठनमा शोकको वातावरण छाएको छ। उनका श्रीमती र तीन वर्षीया छोरी छन्।

सप्तकोसीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा गएको पाँच सदस्यीय गोताखोर टोलीको अभ्यासमा सहभागी भएका राजवंशी र अर्का जवान सुरज साउद बुधबार डुबेका थिए। राजवंशीको शव फेला परेपनि साउदको अवस्था अझै अज्ञात छ।

मधेस प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख डीआइजी कृष्ण ढकालका अनुसार साउदको खोजीका लागि कुरिनटारबाट विशेष गोताखोरसहित ७० सदस्यीय टोली परिचालित गरिएको छ। प्रारम्भिक अनुसन्धानमा सप्तकोसी ब्यारेजमुनि बिछ्याइएका होम पाइपहरूमा उनीहरू फसेको अनुमान गरिएको छ। ती पाइपहरू नदीको बहाव व्यवस्थापनका लागि राखिएका हुन्।

#हरदेव #राजवंशी