विराटनगर– देशभरिका सात वटै प्रदेश सरकारहरुले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर आज आउँदो वर्षका लागि बजेट ल्याउन लागेका छन् । 

कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२–८३ को लागि ३७ अर्ब हाराहारीको बजेट ल्याउन लागेको छ । गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख यथार्थपरक  बजेट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यस वर्ष आउँदो वर्षका लागि एक देखि डेढ अर्ब बढाएर ३७ अर्ब हाराराहीको बजेट ल्याउन लागेका छन ।  

मन्त्री मगरले ल्याउन लागेको बजेट भौतिक पूर्वा क्षेत्र र मानवीय विकासलाई प्राथमिकतामा राखेर ल्याउन लागेको हो । पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले पर्यटन क्षेत्रको संरचनागत विकास गर्ने लिएको लक्ष्य र भौतिक पूर्वाधार सम्पन्न प्रदेश बनाउने उद्देश्यले बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ । यसका साथै मानवीय विकासलाई दोस्रो प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो । 

प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागे पनि ५० हजारमुनिका कुनै पनि योजना नराख्ने भएको छ । ठूला र ठोस योजनामा मात्रै बजेट विनियोजन गर्ने भएको छ । प्रदेश सरकारले बजेटलाई व्यवस्थित गर्नका लागि प्रदेश योजना बैंक कार्यविधि ल्याएर योजना बैंकमा योजनाहरु प्रविष्ट गरेका छन् । योजना बैंकमा प्रविष्ट भएका योजनाहरु मात्रै बजेटमा राख्ने प्रदेश सरकारको नीति रहेको छ । 

प्रदेश सरकारले प्रदेश सांसदहरुलाई चित बुझाउनका लागि प्रत्यक्ष निर्वाचितलाई २ करोड ५० लाख र समानुपातिकबाट निर्वाचितलाई १ करो ५० लाखको योजना बजेटमा समावेश गर्न लागेको हो । तर सत्ता पक्षका सांसदहरुलाई ५ करोडसम्मको योजना बजेटमा राख्ने भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री मगरले प्रदेशसभामा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कायूसूची रहेको छ । 

यस्तै मधेस सरकारले पनि भौतिक पूर्वाधार र मानवीय विकासलाई नै प्राथमिकतामा राखेर गत वर्षभन्दा करिव दुई अर्ब बढी ४६ अर्ब हाराहारीको बजेट साँझ ४ बजे प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बाँकी प्रदेस सरकारले दिउँसो ३ बजे नै प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।