विराटनगर– कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले विगत सात वर्षको अवधिमा प्रदेशमा भौतिक पूर्वाधारको संरचना  निर्माणले फड्को मारेको प्रदेशवासीलाई अनुभूति गराउन प्रदेश सरकार सफल भएको छ । 

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ कोशीद्वारा मंगलबार विराटनगरमा आयोजित सञ्चार माध्यममार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्धी बहस कार्यक्रमको उद्घाटनपछि मन्त्री राईले प्रदेश सरकारले निर्माण गरेको कालोपत्रे, ग्रोभेल, कच्चीलगायतको सडक र पुलले प्रदेशभरिका कृषि उत्पादनले नेपाली सहरको बजारका साथै सीमावर्ती भारतीय सहरमा भएको बजारीकरणले कृषकहरुको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको बताएका हुन् । 

‘प्रदेश सरकारले निर्माण गरेको भौतिक पूर्वाधारको संरचनाले प्रदेशको उत्पादनलाई बजारसँग जोड्न सकेको छ, छैन त्यसको बारेमा यस प्रदेशका पत्रकारहरुले खोजी रिपोर्टिङ गर्नु आवश्यक छ,’ उनले भने, ‘मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि राणा शासन, पञ्चायती व्यवस्था र शाहीकालको नाकारात्मकता प्रचार गर्ने पत्रकारिताको शैली अब बदल्न आवश्यक भइसकेको छ । प्रेस जगतको समेत सहयोगमा प्राप्त संघीय लोकतन्त्रात्मक गणतन्त्रको सुदृढीकरण र विकासका लागि पक्षपोषण गर्ने पत्रकारिता अहिले आवश्यक छ । यसका लागि गलत पक्षको पनि उजागर गर्नुपर्छ । अब जनताको लोकतन्त्रको संरक्षण र विकासका लागि पत्रकारको कलम चल्नु पर्छ ।’

मन्त्री राईले आवश्यकताको आधारमा भन्दा यसअघि मागका आधारमा योजनाहरु निर्माण भएकोले केही वेथिति देखिएको तर यस वर्ष आएको बजेटमा आवश्यकताको आधारमा योजना आएको सबैले हेर्न पाउने दावी गरेका हुन् । ‘प्रदेशमा रहेको वेथिति, भ्रष्टाचार, दण्डहिनताको बिरोधमा सुशासन कायम गर्न पत्रकारले कलम चलाउँनै पर्छ,’ उनले भने, ‘सञ्चार माध्यमले तराई, पहाड एवं हिमाली क्षेत्रको कृषि लगायतका घरेलु उत्पादनको प्रचार प्रसारमा सहयोग गरी मुलुकको समृद्धिमा योगदान गर्नु अपरिहार्य भइसकेको छ ।’  

प्रदेश सरकारले रोजगारी सिर्जना र स्थानीय उत्पादनको उचित मूल्य प्राप्तीका लागि काम गरिरहेकोतर्फ सञ्चारजगतको ध्यानाकर्षण हुनु जरुरी रहेको मन्त्री राईको भनाइ थियो ।  

महासंघका कोशी अध्यक्ष भरत खड्का, उपाध्यक्ष कुमोद अधिकारी, महासचिव  हिमा चेम्जोङ, महासंघ मोरङ अध्यक्ष शुसिला पाठक, मोरङ उद्योग ब्यापार संघका अनिल साह, होटल व्यवसायी संघ कोशी अध्यक्ष राजन श्रेष्ठ, उद्योग वाणिज्य महासंघ कोशीका निर्देशक राधारमण भण्डारीलगायतले सात वर्षको अवधिमा प्रदेशमा निर्माण भएका एक हजार किलोमिटरभन्दा वढी कालोपत्रेलगायतका सडकले रोजगारी सिर्जनाका साथै स्थानीय उत्पादनलाई बजार प्राप्त गर्न सहयोग पुगेको धारणा राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अमर खड्काले सञ्चार माध्यममार्फत उत्पादन , बजार र पूर्वाधार विकास विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।