विशेष अदालतले अर्को आदेश नभएसम्म समाचारलाई यथास्थितिमा राख्न आदेश दिएको छ। ‘प्रकाशित समाचार सामग्री जे अवस्थामा छ, सोही अवस्थामा राख्नू, न हटाउनू, न परिवर्तन गर्नू, नगराउनू,’ आदेशमा भनिएको छ।
विराटनगर– ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ शीर्षकमा समाचार प्रकाशन गरेपछि अदालतको अवहेलना आरोपमा दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार आदेश जारी गर्दै प्रकाशक शम्भुलाल श्रेष्ठ, कार्यकारी सम्पादक एमपी सुब्बा र सम्बन्धित संवाददातालाई व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुनू भनेको हो। साथै दृष्टि मिडिया प्रालिको तर्फबाट कानुनी प्रतिनिधि मार्फत जवाफ पेस गर्न पनि आदेश दिइएको छ।
अदालतको आदेशमा भनिएको छ, ‘यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनु नपर्ने भए त्यसको आधार, कारण र प्रमाणसहित तीन दिनभित्र प्रतिवेदन दिनू, म्याद थप्नसमेत नपाइने गरी।’
उक्त आदेश नवराज सापकोटाले दायर गरेको अवहेलना मुद्दाका सन्दर्भमा आएको हो। गत असार ८ मा दृष्टि साप्ताहिकले ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सोही समाचारप्रति आपत्ति जनाउँदै अदालतका ६ जना कर्मचारीले प्रतिवेदन बुझाएपछि बृहत इजलास गठन गरिएको थियो।
समाचार हटाउन वा परिमार्जन नगर्न पनि आदेश
विशेष अदालतले अर्को आदेश नभएसम्म समाचारलाई यथास्थितिमा राख्न आदेश दिएको छ। ‘प्रकाशित समाचार सामग्री जे अवस्थामा छ, सोही अवस्थामा राख्नू, न हटाउनू, न परिवर्तन गर्नू, नगराउनू,’ आदेशमा भनिएको छ।
यसबाहेक अदालतले अवहेलनाको मुद्दालाई फौजदारी लगतमा समावेश गर्न पनि आदेश दिएको छ। फौजदारी लगतमा समावेश भएपछि आरोपितहरूलाई अदालतमा उपस्थित गराइ बयान लिने प्रक्रिया अगाडि बढाइन्छ।
पृष्ठभूमि र कानुनी आधार
अदालतको अवहेलनासम्बन्धी प्रावधानअनुसार न्यायिक प्रक्रियालाई प्रभावित पार्ने आशयका साथ गरिएको कुनै पनि कार्य, अभिव्यक्ति वा प्रचारलाई गम्भीरतापूर्वक लिइन्छ। अदालतले यस प्रकरणमा प्रारम्भिक रूपमा यस्तै आशंका देखिएको भन्दै स्पष्टिकरण मागेको हो।
#दृष्टि