विराटनगर– भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्षपछि बहुमत ल्याएकोले अब को बन्ने मुख्यमन्त्री भन्ने विषय रोचक बनेको छ । दिल्लीको बागडोर हत्याउन भाजपाभित्र नेताहरुको शक्ति र सामथ्र्य प्रदर्शन भइरहेको छ ।  
 
यसअघि सन् १९९३ मा भाजपाले दिल्लीमा ७० मध्ये ४९ सिट जितेको थियो । अहिले भाजपा ४८ सिटमा विजयी भएको छ । एक दशक बढी दिल्ली सरकार चलाएको आम आदमी पार्टी (आप) २२ सिटमा सिमित भएको छ ।

आपका संयोजक एवं पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गर्ने प्रवेश वर्मालाई मुख्यमन्त्री पदको मजबूत दाबेदार मानिएको छ । उनले केजरीवाललाई ४ हजार ८९ मतले पराजित गरेका छन् । वर्मा, भाजपाको पञ्जाबी र जाट अनुहार हुन् । उनी ‘राष्ट्रिय स्वयं’ नामक सामाजिक सेवा संगठनका सञ्चालक पनि हुन् ।

उनी दिल्लीका प्रभावशाली राजनीतिक घरानाका उत्तराधिकारी पनि हुन् । दिल्लीका पूर्वमुख्यमन्त्री एवं भाजपा हस्ती स्वर्गीय साहिब सिंह वर्माका छोरा हुन् । उनको काका पनि राजनीतिमा छन् । मध्यप्रदेशका भाजपा नेता विक्रम वर्माका छोरी स्वाती सिंहसँग उनको विवाह भएको हो । वर्मा दम्पतिको दुई छोरी र एक छोरा छन् । दुवै छोरीले चुनाव प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरे । प्रवेश पिताको अनुशरण गर्दै राजनीतिमा प्रवेश गरी सन् २०१३ मा पहिलो पटक विधानसभा चुनाव जितेका थिए ।

भाजपाले सन् २०१९ को लोकसभा चुनावमा पश्चिम दिल्लीबाट पाँच लाखभन्दा बढी मतले जितेका थिए । यसपछि उनी संसद सदस्यको तलब र भत्ता सम्बन्धि संयुक्त संसदीय समिति एवं सहरी विकास मामिलाको स्थानीय समिति सदस्य पनि रहे । सन २०२४ को लोकसभा चुनावमा वर्मालाई उम्मेदवार नबनाउँदा भाजपाका शीर्ष नेताहरुको निकै आलोचनासमेत भएको थियो ।

तर भाजपाले उनको लोकप्रियता हेरेर उनलाई दिल्लीको चुनावी प्रतिस्पर्धामा उम्मेदवार बनायो । उनी आक्रामक शैलीमा केजरीवाल र आम आदमी पार्टी सरकारको नीतिको खरो आलोचना गरे । राजनीतिक विश्लेषक जय मृगका अनुसार हरेक पराजयको भोलिपल्टदेखि भाजपाले चुनावको तयारी गर्छ, दिल्लीमा त्यही मिहिनेतले काम गर्यो ।

सन् १९७७ मा जन्मेका वर्माले दिल्ली पब्लिक स्कूलबाट शिक्षा आर्जन गरेका हुन् । उच्च शिक्षाका लागि किरोडीमल कलेजमा भर्ना भएका बर्माले बीए र फर स्कूल अफ म्यानेजमेन्टबाट एमबीए उर्तिण गरेका छन् । उनी भाजपाको अर्बपती विधायकमध्येका एक हुन् । उनी १ सय १५ करोड भारतीय रुपैयाँभन्दा बढी सम्पतिको मालिक भएको चुनाव आयोगमा बुझाएको विवरणमा उल्लेख छ । 

मुख्यमन्त्रीको दौडमा बर्मालाई टक्कर दिँदै भाजपा दिल्ली एकाइका प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा पनि अगाडि नै छन् । उनी सन् १९८८ देखि भाजपाको राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी सन् २००९ मा प्रदेश मन्त्री र २०१७ मा प्रदेशका उपाध्यक्ष बने । उनी लोकसभा चुनाव अगाडिदेखि आक्रामक रणनीतिमा काम गरिरहेका थिए । सचदेवालाई संगठनको व्यक्ति मानिन्छ । दिल्ली चुनावको नेतृत्वसमेत गरेकाले उनी पनि मुख्यमन्त्रीको बलियो दाबेदारको रुपमा देखिएको हो ।

सिख समुदायमा राम्रो पहुँच राख्ने भाजपा नेता मनजिन्दर सिंह सिरसालाई पार्टीले मुख्यमन्त्रीको रुपमा अघि सार्ने संभावना पनि उच्च देखिएको छ । भाजपाले सिख समुदायको मन जित्नका लागि पनि सिंहलाई मुख्यमन्त्री बनाउन सक्ने राजनीतिक वृतमा चर्चा छ । भाजपामा सिख समुदायबाट शक्तिशाली नेतृत्वकर्ताको अभावसमेत छ । उनी दिल्ली सिख गुरुद्वारा समितिका अध्यक्ष पनि रहिसकेका छन् । सिंह यो तेस्रो पटक दिल्लीबाट चुनाव जितेका हुन् । भाजपाले सिरसालाई मुख्यमन्त्री बनाएर उनकै सहयोगमा पञ्जाबमा हुने आउँदो विद्यान सभा चुनावमा सिख मतदातालाई आकर्षित गर्ने कार्ड फाल्न सक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । उनी अकाली दलका अध्यक्ष सुखबीर सिंह बादलको निकट रहिसकेका छन् ।

दिल्लीमा पूर्वप्रतिपक्षी नेता तथा दलका अध्यक्ष विजेन्द्र गुप्ता पनि मुख्यमन्त्रीको दौडमा छन् । दिल्लीमा ठूलो संख्यामा रहेका वैश्य समुदायमा उनी लोकप्रिय छन् । दिल्लीबाट निरन्तर तेस्रो पटक चुनाव जितेर उनी केजरीवाल सरकार विरुद्ध मुखर र संघर्ष गर्दै आएका हुन् । गुप्ताले यस पटक पनि करिब ३८ हजारभन्दा बढी भोटले विजयी भए । सन् १९९७ देखि राजनीतिक यात्रा थालेका उनी भाजपाको राष्ट्रिय कार्यकारिणी सदस्य पनि हुन् । वैश्य समुदायको मतले देशको बागडोर सम्हाल्दै आएका भाजपाले दिल्लीको नेतृत्व वैश्य समुदायकै गुप्तालाई दिने उच्च संभावना रहेको राजनीतिक विश्लेषकको बुझाइ छ ।  

भाजपाको सशक्त महिला नेतृहरुमध्ये रेखा गुप्तालाई पनि संभावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । उनी महिला नेतृहरुमध्ये पार्टीको पहिलो रोजाइमा पर्छिन् । उनले पनि यो चुनावमा ३० हजार बढी भोटले विजय भएकी हुन् । भाजपाले महिला एवं वैश्य समुदायलाई लक्षित गरेर रेखालाई मुख्यमन्त्रीको रुपमा छनोट गर्नसक्ने परिस्थिति रहेको वरिष्ठ पत्रकार शरद गुप्ताको बुझाइ छ । तर भाजपाले जहिले पनि आफ्नो छनोटले चकित पार्दै आएको छ । उसले कमै चर्चामा रहेका नेताहरुलाई पनि मुख्यमन्त्री वा ठूलो पदमा राखेको इतिहास छ । उडीसा, छत्तिसगढ, राजस्थान र मध्यप्रदेशमा मुख्यमन्त्री बनाउँदा ओझेलमा पर्दै गएका नेताहरुलाई भाजपाले छनोट गरेको इतिहास छ ।

किन पराजित भए केजरीवाल ?

दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवाल माथि उनकै गुरु अन्ना हजारले कटाक्ष गरेका छन् । कुनै बेला दुवै जना भ्रष्टाचार विरोधी अभियानमा सँगसँगै थिए । मदिराको लाइसेन्स र ठेका दिएको उल्लेख गर्दै केजरीवाललाई सवालको कटघरामा ल्याएका छन् ।
‘ सत्तामा आए पछि रक्सीको लाइसेन्स र ठेका दिएर केजरीवालले  गल्ति गरे, रक्सीले समाजलाई विनाशको मार्गमा लान्छ,’उनले भने,‘सबै राजनेता खराब हुन् भन्ने पनि होइन, राजनीतिमा राम्रा पनि छन् तर राजनीतिमा लागेर रक्सीको ठेका दिनु अविवेकशील कदम हो, पैसाको पछि कुदनु हुँदैन्थ्यो ।’ (भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा)