विराटनगर- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइटहाउसमा भएको चर्काचर्कीको ३ दिनपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै खाले सैन्य सहयोगमा रोक लगाएको छ । यो आदेश तत्काल कार्यन्वयनमा आउने ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ ।
अमेरिकाबाट निस्केर युक्रेनको बाटामा रहेको सैन्य सहायता समेत ट्रम्पको आदेशले रोकिएको छ। यसमा पोल्यान्ड पुगेका सैन्य सामग्री समेत छ।
हवाइटहाउसका एक अधिकारीका अनुसार युक्रेनका राष्ट्रपति शान्तिका लागि तयार नहुन्जेल सम्म यो सामान दिइने छैन । युक्रेनलाई सैन्य सहायता रोकेको विषयमा अहिलेसम्म रक्षा मन्त्री तथा ट्रम्पले केही जानकारी गराएका छैनन्। अमेरिकाले सैन्य सहयोग दिँदा सम्म जेलेन्स्की शान्तिका लागि तयार नहुने राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्।
सैन्य सहायता रोक्नु केही घण्टाअघि ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति जेलन्स्कीको खरो आलोचना गरेका थिए। उनले भने,’जेलेन्स्की जबसम्म अमेरिकाको सहयोग पाउँछन् त्यो समयसम्म शान्तिका लागि तयार हुँदैनन्।’
अमेरिकाविरुद्ध जेलेन्स्कीले दिएको बयानको पनि कडा आलोचना गरे। उनले भने,’जेलेन्स्कीले सार्वजनिक गरेको बयानहरु अमेरिकाका लागि स्वीकार्य छैन।’
केही समय पहिले जेलेन्स्कीले अमेरिकालाई मनाउने बताउँदै आएको थियो। ट्रम्पले शान्तिका लागि तयार नभइ उनले युद्धका लागि उक्साएको आरोप लगाए।